बोर्डको अध्यक्ष नियुक्ति गर्न २ सय करोडको चलखेल, खतिवडाको खुलासाबारे अर्थमन्त्रीले दिए जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा २ सय करोडको चलखेल भएको आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गर्दै खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाहरू २ सय करोड बोकेर हिँडेको बताए ।

अहिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा एकदम रस्साकस्सि भएको र केही बिचौलियाहरू २ सय करोड पैसा बोकेर बजारमा हिँडेका र त्यसको मोहमा मन्त्रीज्यूहरू पनि कता कता लागेको भन्ने सुन्नमा आएको छ । यसको बारेमा स्पष्ट पारिदिनु हुन अनुरोध गर्न चाहन्छु ।

जवाफमा अर्थमन्त्री पुनले भने, ‘धितोपत्र बोर्डको सेयर बजारको नियामक निकाय हो । नियामक निकाय स्वतन्त्र हुनुपर्छ । व्यवसायिक हुनुपर्छ । यसमा सरकार प्रतिवद्ध र स्पष्ट छ ।’

‘यस सम्बन्धमा पूर्ववर्ती अर्थमन्त्रीज्यूकै समयमा सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अर्थसचिव पदेन र एकजना विज्ञसहितको तीन सदस्यीय समिति गठन गरेको, त्यसले छनौटको लागि आवेदन माग गरेको, १९ जनाले आवेदन दिएको, त्यसमा ५ जनाको सर्ट लिस्ट गरेको, ५ जनामध्येबाट प्रस्तुतिको लागि बोलाउँदा २ जना मात्रै आउनु भएको र के गर्ने ? कानूनमा स्पष्ट रुपमा के भनेको रहेछ भने कम्तिमा पनि ३ जना योग्यहरूलाई सिफारिस गर्नेभन्दा त्यसमा आफ्ठ्यारो पर्दा समितिले महान्यायाधिवक्ता कार्यालयलाई नेपाल सरकारको सल्लाहकार, कानूनी सल्लाहकार, महान्यायाधिवक्तालाई यसबारे के गर्न सकिन्छ ? २ जनालाई सिफारिस गर्न सकिन्छ । या दुई प्लस १ जनालाई गर्न सकिन्छ । या अरु थप ३ जना वा ५ जनालाई गर्न सकिन्छ भनेर कानूनी रायका लागि पठाएको छ’, उनले भने ।

‘त्यहाँबाट कानूनी राय आउनेवित्तिकै त्यो समितिले आफ्नो सिफारिस गर्छ र सरकारले त्यसबारे आवश्यक छिटै निर्णय लिन्छ । म विश्वास दिलाउन चाहन्छु’, अर्थमन्त्री पुनले भने ।

‘यस सम्बन्धीमा विभिन्न मिडियामा विभिन्न खालको स्वार्थ समूहका कुराहरू आएका छन् । कुनै नेता विशेषले दवाव दिएका कुरा आएका छन् । यो कुरा सत्य होइन । यसमा स्पष्ट रुपले । व्यवसायिक रुपले दक्ष मान्छे यसको अध्यक्ष चयन हुन्छ भन्ने मेरो विश्वास छ । सरकारले त्यो खालको अप्वाइमेन्ट गर्छ भन्ने मेरो विश्वास छ । जति पनि हल्लाहरू छन् । आरोप छन्, प्रत्यारोप जस्ता छन्, लाञ्छनाहरू जस्ता छन् । कति ठाउँ नेताहरूलाई जोडेर । कति ठाउँ मलाई जोडेर । प्रधानमन्त्रीजीलाई जोडेर । यो कुरामा सत्यता छैन’, अर्थमन्त्री पुनले सांसद खतिवडालाई जवाफ दिएका छन् ।

सांसद खतिवडाले बजेट मन्त्री र आफू निकटका नेताहरूको क्षेत्रमा मात्रै परेको भन्दै व्याङ्ग्य गरेर अर्थमन्त्री पुनलाई धन्यावाद दिएका छन् ।

उनले भने, ‘माननीय मन्त्रीज्यूले माननीय सदस्यभन्दा मन्त्रीज्यूहरूलाई बढि माया गरेको कुरा त जग जाहेर नै छ ।’

‘कुनै क्षेत्रमा ८ अर्ब पैसा गएका छ । कहिँ १ करोड, २ करोड पनि नगएको जानकारी नी छ । त्यसका लागि माननीय मन्त्रीज्यूप्रति असाध्यै पोजेटिभ हुनु भएकोमा हार्दिक धन्यावाद दिन चाहन्छु’, सांसद खतिवडाले भने ।

Published : Monday, 2024 June 24, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया