गृहमन्त्री लामिछानेलाई तनाबै तनाब, १८ गते जे पनि हुन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ असार १८ गतेलाई तोकिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको छ । लामिछानेविरुद्धको रिटलाई असार १८ गतेका लागि अर्को पेसी तोकिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले लामिछाने र महान्यायाधिवक्ता कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

गृहमन्त्री लामिछानेमाथि रुपन्देही र कास्कीमा सहकारी ठगीको जाहेरी परे पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि कुनै जाहेरी नपरेको भन्दै क्लिन चिट दिएको छ ।

रिट निवेदकको तर्फबाट बहस सकिएको छ । अब गृहमन्त्री लामिछानेको तर्फको बहस बाँकी छ ।

शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका छन् ।

उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधीवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधीवक्ता सूर्य दाहाल लगायतले बहस गरेका छन् ।

बहसमा लामिछानेलाई निलम्बनको माग रिट निवेदकले उठाएका छन् । सरकारी वकिलले महान्यायाधीवक्ता कार्यालयबाट जारी भएको पत्रले क्लिन चिट दिएको नभई सूचना मात्र दिएको बताएका छन् ।

सरकारका तर्फबाट लामिछानेविरुद्धको रिटको औचित्य नभएकाले खारेज हुनुपर्ने माग गरिएको छ ।

यो रिटका कारण गृहमन्त्री लामिछाने निकै तनाबमा छन् । सर्वोच्च अदालतले जे पनि निर्णय गर्न सक्ने भएपछि लामिछानेले तनाब लिएको बुझिएको छ ।

Published : Friday, 2024 June 21, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया