लुम्बिनीमा योग दिवस, मुख्यमन्त्री महरा र राजदूत श्रीवास्ताव सहभागी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् ।

भारतीय राजदतावास काठमाडौं, लुम्बिनी विकास कोषसहितको आयोजनाम बिहीबार लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको महत्वपूर्ण प्रणालीका रुपमा विकास भएको बताए ।

‘योगले हामीलाई आत्म– ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पु¥याउँछ’, उनले भने ।

योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने उनले बताए । मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकारले नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए ।

उनले योगका फाइदाहरूलाई स्वीकार्दै सार्वजनिक स्वास्थ्य सम्बन्धि पहलहरूमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गर्न समेत आग्रह गरेका छन् ।

‘यस प्राचीन अभ्यासको रूपान्तरणकारी शक्ति अनुभव गर्न म सबैलाई आह्वान गर्दछु’, मुख्यमन्त्री महराले भने । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्न पाउँदा खुसी र आनन्द भएको समेत उनले बताए ।

कार्यक्रमले नेपाल र भारतवीचको साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउँदै लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री महराले भारतीय दूतावासलाई धन्यवाद दिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भगवान बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदा यसले पर्यटन प्रवर्द्धन गर्ने बताए ।

श्रीवास्तवले गत वर्षदेखि लुम्बिनीमा योग दिवस मनाउन शुरु गरिएको र अब प्रत्येक वर्ष जुन २० तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने बताए ।

राजदूत श्रीवास्तवले भगवान बुद्धको जन्मस्थलमा लुम्बिनीको प्रचार प्रसारका लागि भारतीय दूतावासले विभिन्न कार्यक्रमहरू समेत गर्दै आएको बताएका छन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्ने मार्ग जस्तै आधुनिक युगमा पूर्वीय मान्यताअनुसारको योग अभ्यासले फाइदा गर्ने बताए । उनले लुम्बिनी विकास कोषले भारतीय दूतावाससँग सहकार्य गरेर कार्यक्रमहरू गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनका लागि आगामी दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताए ।

शाक्यले बुद्धजन्मस्थल लुम्बिनीलाई भारतीय पर्यटकहरूको मुख्य गन्तव्य बनाउनुपर्ने बताएका छन् । शाक्यले यसका लागि सुनौली नाकामा व्यवस्थित एकीकृत अध्यागमन कार्यालय बनाउन मुख्यमन्त्री महरा र राजदूता श्रीवास्तवको ध्यानआर्कषण गराएका छन् । शाक्यले नाकामा पर्यटकहरूले दुःख पाइरहेको गुनासो आउने गरेको बताए ।

भारतीय राजदूत श्रीवास्तवले मायादेवी मन्दिरको दर्शन गरेका थिए । श्रीवास्तवलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनीका बारेमा बिफ्रिङ गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेल, पूर्वमन्त्री हृदयश त्रिपाठी, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, पतञ्जलि योगमा आबद्ध रुपन्देही, कपिलवस्तु र नवलपरासीका योगगुरु, योग अभ्यासकर्ता, उद्योगी व्यवसाय र स्थनीयको उपस्थिति रहेको थियो ।

प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय राजदूतावास, लुम्बिनी विकास कोष, वीपी कोइराला भारत–नेपाल फाउण्डेशन, पतञ्जलि योगपीठ नेपालले संयुक्त रुपमा बिहीबार नै दिवस मनाएको हो ।

सहभागी मुख्यमन्त्री महरासहितका अतिथिहरूले समेत योग अभ्यास गरेका थिए । यो वर्ष स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

Published : Friday, 2024 June 21, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया