पूर्वआइजीपीहरूसँग हेडक्वाटरमा छलफल

काठमाडौं । नेपाल प्रहरीले बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टिआरसी विधेयक)मा अन्तरक्रिया तथा छलफल गरेको छ ।

शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विधेयकमाथि पूर्वआइजीपीसहित विभिन्न सरोकारवाला निकायसँग छलफल भएको हो ।

छलफलमा प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिका सदस्य, पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवम् पूर्वआइजीपीहरू ध्रुवबहादुर प्रधान, प्रकाश अर्याल, ठाकुर ज्ञवाली, रविन्द्रप्रताप शाह, धिरजप्रताप सिंह, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

उक्त अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले टिआरसी विधेयकमा समेटिनुपर्ने विषयहरूको लागि बैठक अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहराले संगठनको दुरूगामी हितको लागि छलफल फलदायी रहेको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै बैठकमा भएको छलफल तथा अन्तरक्रियाबाट आएका राय सुझावहरूलाई समेटी विधेयक सम्बन्धमा आगामी कार्यक्रम एवम् रणनीति तय गरिने बताए ।

कार्यक्रममा सुरक्षा तथा न्याय अध्ययन केन्द्रको तर्फबाट अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त अध्ययन केन्द्रको काम कर्तव्य सम्बन्धि प्रस्तुतीकरण गरेका छन् ।

अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका छन् ।

अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोदचन्द्र गुरूङले विभिन्न देशमा लागू भएको टिआरसी सम्बन्धि आफ्नो अनुभवसहितको प्रस्तुतीकरण गरेका छन् ।

प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले उक्त विधेयक सम्बन्धमा नेपाल प्रहरीको तर्फबाट राय सुझाव दिन तथा अन्य आवश्यक कार्य गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको संयोजकत्वमा गठित समितिको तर्फबाट प्रस्तुतीकरण गरेका छन् ।

Published : Friday, 2024 June 21, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया