कांग्रेसले ७० वर्ष अगाडि लिएको सिद्धान्त अहिले पनि सान्दर्भिक छ : नेतृ डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले बदलिदो राजनीतिक र सामाजिक वातावरणलाई आत्मसात गरेर जनतामा जानुपर्ने बताएकी छिन् ।

बिहीबार काठमाडौंमा नेपाल महिला संघले आयोजना गरेको ‘लैंगिक समानता अघि बढाउन खेल्नु पर्ने भूमिका पहिचान गर्नका लागि रणनीतिक योजना कार्यशाला गोष्ठि’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेतृ डा.राणाले कांग्रेसले लिएको सिद्धान्त र रणनीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताइन् । उनले नयाँ पार्टी हौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले कांग्रेस र नेपाल महिला संघप्रति गरेको टिकाटिप्पणीको प्रतिवाद गरेकी छिन् ।

उनले भनिन्, ‘बदलिदो राजनीतिक र सामाजिक वातावरणमा नेपाल महिला संघलाई अनुकूलन गर्न तयारी अवस्थामा रहनुपर्छ । अहिलेको समयले के चाहेको छ ? त्योसँग हामी थिचिएर जानु हुँदैन । नत्र हामी बिलय भएर जान्छौँ ।’

कांग्रेस नेतृ डा.राणाले भनिन् ‘अहिले रास्वपाले के भनिरहेको छ ? ए…नेपाली कांग्रेस थोत्रो पार्टी, यिनीहरूलाई के थाहा छ ? तर, उनीहरूले के बिर्सिएका छन् भने हाम्रो यत्रो लामो इतिहाँस नभएको भए त्यो रास्वपाको सांसदहरू एकजना पनि हलमा बसेका हुने थिएनन् ।’

‘हाम्रो पार्टीले गरेको संघर्ष, मंगलादेवी सिंह आमाले उठाउनु भएको आवाजले आज हामी यती जना महिलाहरू त्यहाँ संसदभित्र बसेका छौँ । तर, उनीहरूले के गराउन खोज्छ ? उनीहरू यो हिस्ट्री नै बिर्साउन खोज्छ’, डा.राणाले भनिन् ।

‘नेपाली कांग्रेस थोत्रो पार्टी, पुरानो पार्टी भन्छन्, उनीहरूलाई केही पनि थाहा छैन’, उनले भनिन् ।

‘हामी जति राम्रो पार्टी कुन छ ? आजभन्दा ७० वर्ष अगाडि हामीले भनेका कुराहरूलाई आज पनि त्यहि कुरामा नेपाली समाजहरू, नेपाली समाज वरिपरी घुमी रहेको छ । हामीले राष्ट्रियता भनेका थियौँ । अहिले पनि राष्ट्रियता त्यति नै इम्पोर्टेन्ट छ । हामीले समाजवाद भनेका थियौँ । अहिले पनि समाजवाद त्यति नै इम्पोर्टेन्ट छ । त्यसपछि हामीले लैंगिक समानता भनेका थियौँ । त्यो पनि त्यतिकै इम्पोर्टेन्ट छ । हामीले समावेशीकरण गर्ने भनेका थियौं । त्यो पनि त्यतिकै इम्पोर्टेन्ट छ । कुन कुरामा हामी चुकेका रहेछौँ त ? तिमीहरूले कुन चाहिँ कुरा ल्याएका छौँ त ? भनन् भन्दा हामीले सोध्न सक्नुपर्छ’, डा.राणाले भनिन् ।

‘हामी पहिला आफै प्रष्ट हुनु पर्छ । भविष्यको तयारीमा हामी के नयाँ इस्यु बोकेर जाने ? हामी बारम्बार चुनावमा जान्छौँ । गाउँमा कार्यक्रम लिएर जान्छौँ । नयाँ इस्युहरू आएको छ । म जाँदा प्राइमरी स्कुल माग्थे, त्यसपछि हाइस्कुल माग्थे, कलेज, कुलो माग्थे । योपालि जाँदा बाढी आयो, पहिरो आयो, घर गयो, बाटो बगायो कुरा आयो । क्लाइमेट चेन्जको कुरा हामी सबै महिला साथीहरूले बुझ्नु पर्ने हो की । क्लाइमेट चेन्ज कसरी आइरहेको छ ? त्यो थाहा पाउने हो की ? महिलाहरूको बेचबिखनमा हामी के भूमिका खेल्न सक्छौँ ? त्यो हेर्ने हो की ?’, प्रश्न गर्दै उनले भनिन् ।

नेतृ डा.राणाले भनिन्, ‘मान्छेको मेन्टल हेल्थका कुरा डिस्कशन गराउन थाल्ने हो की ? हामी कसरी समाजमा जाने ? यो कुरामा महत्वपूर्ण कुरा हो ।’

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाद्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा.प्रकाशशरण महत, नेताहरू शेखर कोइराला, पुष्पा भुसाल, रामकृष्ण यादव, सीता गुरुङ, उषा राउत, लक्ष्मी खतिवडा, धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2024 June 20, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया