अन्तरघात अन्त्य गर्न सकियो भने महिलालाई अझै अवसर दिन सकिन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात नहुने हो भने महिलाहरूले अझै मौका पाउने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल महिला संघले आयोजना गरेको ‘लैंगिक समानता अघि बढाउन खेल्नु पर्ने भूमिका पहिचान गर्नका लागि रणनीतिक योजना कार्यशाला गोष्ठि’लाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्रको अन्तरघातको रोगलाई अन्त्य गर्न सकियो भने महिलाहरूलाई अझै अवसर दिन सकिने बताए ।

देउवाले भने, ‘महिलाहरूको लागि हाम्रो पार्टीमा अन्तरघातको रोग छ । यसबाट मुक्त गराउन सकियो भने मलाई लाग्छ महिलाहरूलाई अझै बढि मौका मिल्ने विश्वास लिएको छु ।’

‘संसादभरि महिलाहरूको अधिकारका लागि, महिलाहरूको समावेशीकरणका लागि, समानुपातिक विकासको लागि एउटा आवाज उठिरहेको छ’, उनले भने, ‘त्यहि हिसाबमा नेपालमा पनि महिला राष्ट्रपति भएको छ । विद्या भण्डारीजी ।’

‘भोलि पनि त्यस्तै ठाउँहरूमा महिलाहरूलाई अगाडि बढाउन सकिन्छ’, देउवाले भने, ‘त्यस कारणले महिलाहरूलाई योग्य, त्यस किसिमको सक्षम, त्यस किसिमको तयारीका साथ अगाडि बढ्नु पर्छ ।’

उनले भने, ‘महिलाहरूलाई अलगै सिट व्यवस्था गर्नुपर्छ चुनावमा । नभए पनि समस्या पर्छ भने चनावमा जान सकिन्छ । तर, हाम्रोमा महिला सिफारिसमा आइहाल्छन् ।’

‘अरु पार्टीमा महिला जित्छन् । हाम्रो पार्टीमा हार्छन् । त्यो चाहिँ नहराउन कसरी हाम्रो पार्टीलाई हार्न नहुने गरेर तयारी गर्नुपर्छ’, सभापति देउवाले भने ।

‘महिलाहरूको धेरै ठूलो योगदान रहेको छ नेपालको राजनीतिक परिवर्तन हुनलाई । भोलिका दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अहं भूमिका रहेकोमा सबै ठाउँमा महिलाहरूलाई समावेशी, समानुपातिक ढंगले ठाउँ दिएको छ’, उनले भने ।

‘महिलाहरूको भूमिका अझै प्रभाकारी सशक्त हुने कुरामा मलाई विश्वास छ । अवश्य हुनेछ’, सभापति देउवाले भने ।
कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू शेखर कोइराला, डा.आरजु राणा देउवा, पुष्पा भुसाल, सीता गुरुङ, नेपाल महिला संघकी अध्यक्ष उषा राउत, लक्ष्मी खतिवडा, रामकृष्ण यादव, धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2024 June 20, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया