कांग्रेसका गुरुङले मनाङले सधैँ दुःख पाउनु पर्ने हो ? भनेर प्रश्न गरेपछि प्रचण्डले दिए जवाफ (भिडियो)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनाङ जिल्लाको सडक, पूर्वाधार, विकास आयोजनाहरूको विषयमा जवाफ दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले बेशिसहर–चामे सडक खण्ड र ०७८ सालको बाढीपहिरोबाट भएको नोक्सानीबारे सरकारले के गरिरहेको छभनेर गरिएको प्रश्नको जवाफमा दाहालले कामहरू भइरहेको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘माननीयजी (टेकबहादुर गुरुङ)ले उल्लेख गर्नुभएको बेशिसहर–चामे सडक खुदीसम्म जम्मा ८ किलोमिटर सडक कालोपत्र भए पनि अगाडि अन्नपूर्ण संरक्षण क्षेत्र परेकोले तुरुन्तै कालोपत्रे गर्न बोलपत्र आह्वान गर्न नसकिएको हो ।’

‘यसमा हाल वातावरणीय मूल्याङ्कन सम्पन्न गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट सहमति प्राप्त भइसकेको छ । र, बन तथा वातावरण मन्त्रालयबाट अन्तिम सहमति प्राप्त भएपछि ईआईए सम्पन्न गरिने र कालोपत्रेको काम अगाडि बढाइने विश्वास व्यक्त गर्न चाहन्छु’, प्रधानमन्त्री दाहालले जवाफका क्रममा भने ।

‘बिक्रम संवत् २०७८ सालको बाढीपहिरोको कारणले मनाङ जिल्लाका ६३ जना लाभग्राहीका लागि अस्थायी आवास र निजी आवास निर्माणका लागि रु. १ करोड ८३ लाख ९० हजार निकाशा गरिसकिएको छ’, दाहालले भने ।

‘साथै तटबन्धको काम उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वार्षिक विकास कार्यक्रममार्फत कार्यान्वयन हुने जानकारी माननीयज्यूलाई गराउन चाहन्छु’, प्रधानमन्त्री दाहालले भने ।

मनाङ जिल्लाको विकासमा भइरहेको ढिलाइ र जनताले पाइरहेको सास्तीबारेमा प्रधानमन्त्री दाहालसँग प्रश्न गर्दै कांग्रेसका सांसद गुरुङले भने, ‘प्रधानमन्त्रीज्यूलाई म केही प्रश्न राख्न चाहन्छु । पर्यटकीय तथा जलश्रोतले सम्पन्न हिमाली जिल्ला मनाङ जहाँ लमजुङ जिल्लाको बेशिसहरदेखि मनाङको चामेसम्म जोड्न ६५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गर्न नेपाली सेनालाई १५ वर्ष लाग्यो ।’

‘उक्त बेशिसहर–चामे मोटरबाटो ट्रयाक खोल्ने काम सम्पन्न भएपछि मिति २०७९ साल मंसिर ७ गतेदेखि सार्वजनिक यातायात पनि सञ्चालनमा आयो’, गुरुङले भने, ‘उक्त मोटरबाटो सडक विभागलाई जिम्मा लगाइयो । सडक विभागले जिम्मा लिएको १२ वर्ष पूरा भइसक्दा पनि हालसम्म जम्मा ८ किलोमिटर सडकमात्रै कालोपत्र भएको छ । र, बाँकी ५७ किलोमिटर सडक हालसम्म कालोपत्र त कुरै छोडौं ग्राभेल समेत हुन सकेको छैन ।’

सांसद गुरुङले भने, ‘राजधानीबाट सबैभन्दा नजिक दुरीमा पर्यटकीय हिमाली जिल्ला मनाङ हो । धेरै संख्यामा आन्तरिक तथा बाहिरी पर्यटकहरू भित्रिने जिल्लाहरूमध्ये अग्रस्थानमा पर्दछ ।’

‘मनाङका जनताहरू, आन्तरिक तथा बाह्य पर्यटकहरूले कहिलेसम्म जोखिमपूर्ण यात्रा गर्नु पर्ने हो ? मनाङबासीले पक्कीपीच सडकमा यात्रा गर्न अब कति वर्ष कुर्न पर्ने हो ? आगामी योजना के छ ? ठीक कति वर्षभित्र बेशिसहर–चामे सडक ग्राभेल भइ कालोपत्रे पिचको कार्य सम्पन्न हुनेछ भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूबाट जवाफ पाउँ’, गुरुङले भने ।

‘२०७८ साल असार १ र २ गते आएको भिषण वर्षाले मनाङ जिल्लाको सदरमुकाम चामेस्थित विभिन्न सरकारी कार्यालय, विद्यालय, पर्यटन व्यवसायीहरू होटल तथा घरहरू नासो गाउँपालिकाको प्रशासनिक भवन, बैंक, अधिकांश घरहरू, होटल, व्यापार तथा व्यवसायहरू, मनाङ जिल्लाको प्रवेशद्वार भनिने सुन्दरताल बजार पनि डुबानमा परेको थियो’, सांसद गुरुङले भने ।

‘साथै जिल्लाभरिको सडक, झोलुङ्गेपुल बाढीले क्षतविक्षत गरी अर्बौंको क्षति पु¥याएको थियो । तत्कालीन समयमा । स्वयं सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्वमन्त्री देवप्रसाद गुरुङ ज्यू, तत्कालीन उर्जामन्त्री पम्फा भुसालज्यू, म लगायत कर्मचारीहरूको टिमले तत् अवलोकन गरी तत्कालीन सरकारले समेत मनाङ जिल्लालाई क्षतिग्रस्त जिल्ला घोषणा गरेको थियो । तर, हालसम्म पनि कार्यान्वयनमा ढिलाइ भएको कारणले मनाङ जिल्लाका जनताले सास्ती खेपीरहेका छन् । र, मनाङ जिल्लाका जनताले कहिलेसम्म सास्ती खेप्नु पर्ने हो ?’, गुरुङले प्रश्न गर्दै भने ।

‘जबकी पर्यटन र जलस्रोतले सम्पन्न हिमाली जिल्ला मनाङबाट राज्यले मनग्य आम्दानी गरिरहेको छ । मलाई लाग्छ । देशको राजधानीबाट नजिक दुरी भए पनि भौगोलिकको हिसाबले अति दुर्गम हिमालपारीको जिल्ला मनाङलाई राज्यले हेपेकै हो ? यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको धारणा के छ ? जवाफ पाउँ’, कांग्रेस सांसद गुरुङले प्रश्नका क्रममा भने ।

Published : Thursday, 2024 June 20, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया