युवा पलायन रोक्न कृषिका लागि जग्गा दिने योजनासहित तिलोत्तमाको नीति तथा कार्यक्रम सार्वजनिक

तिलोत्तमा । ‘समृद्ध नगर खुशी नगरबासी’ भन्ने नाराका साथ तिलोत्तमा नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनमा विदेशमा रोजगारीका लागि जाने र पलायन हुने युवाहरूलाई रोकथाम गर्ने योजनासहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । खाणले तिलोत्तमालाई कृषिमा आधुनिकीकरण, व्यवसायीकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर पालिका बनाउन जनअपेक्षाअनुसार जनताका साझा समस्याहरू समाधान गर्ने प्राकृतिक कषि क्षेत्रका जनतालाई राहत प्रदान गर्ने तथा आशा जगाउने किसिमका आवश्यक रणनीति निर्माण गरिने जनाएका छन् ।

नगरपालिका क्षेत्रभित्र प्राङ्गारिक खेती प्रणालाई प्रवर्द्धन गर्न रासायनिक मल र विषादी प्रयोग नगरी प्राङ्गारिक मल र जैविक विषादी प्रयोग गरी खेती गर्न तरकारी कृषक समूहलाई प्रोत्साहन गर्दै मापदण्ड बनाइ अनुदानको व्यवस्था गरिने नगरप्रमुख खाणले नीति तथा कार्यक्रममा योजना राखेका छन् ।

गहुँ, मकै, तरकारी बीउ, फलफूल विरुवा, घाँसका बीउ, साना सिँचाई, फूलखेती, व्यवसायिक तरकारी खेती, बाली बीमा, पशु बीमामा दिएको अनुदानलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ । वडा नं. १७ मा शीत भण्डारण गृह निर्माण कार्य तदारुकताका साथ अगाडि बढाउने नगरप्रमुख खाणले बताए । वडा नं. ६ लाई दुग्ध उत्पादन पकेट क्षेत्र बनाइनेछ ।

किसानलाई कृषि अनुदान, मल, सिँचाई लगायतलाई व्यवस्थित बनाउन मापदण्ड निर्माण गरी तिलोत्तमा किसान कार्ड लागू गरिनेछ ।
सामूहिक र चक्लाबन्दी खेती गर्न चाहने कृषकहरूलाई प्रोत्साहनका लागि आवश्यक तालिमको साथै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइनेछ । शुलभ भेटेरीनरी पसल सञ्चालनमा ल्याउन र स्मार्ट कृषिगाउँलाई निरन्तरता दिन प्रदेश सरकारसँग विशेष पहल गर्ने कार्यक्रम पनि रहेको छ ।

नगरप्रमुख खाणले ‘बरु म गर्छु तर, कहिँ जान्न देश बिर्सी’ भन्ने नाराका साथ कृषि उद्यम गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न युवाहरूले दर्ता गर्ने कृषि फार्मको व्यवसाय दर्तामा शतप्रतिशत छुट दिने नीति अवलम्बन गर्दै आवश्यक सहयोगका लागि प्राथमिकता दिइनेछ । नदी उकास क्षेत्रमा रहेको खाली जग्गामा सामूहिक कृषि गर्ने युवा तथा कृषक समूहलाई प्राथमिकताका साथ जग्गा उपलब्ध गराइनेछ ।

तिलोत्तमा १३ सेमरीस्थित सखिया सामुदायिक थारु होमस्टेलाई तिलोत्तमा नगरपालिकाको अतिथि सत्कार क्षेत्रको रुपमा विकास गर्दै होमस्टे वरीपरीमा समुदायहरूलाई स्थानीय उत्पादनमा जोड दिँदै होमस्टेलाई नगर क्षेत्रभित्र उत्पादित प्राङ्गारिक उत्पादन खपत केन्द्रको रुपमा सञ्चालन गरिनेछ । सामुदायिक विद्यालयहरूको शैक्षिक भौतिक एवम् समग्र विकासको लागि नगरप्रमुख शैक्षिक सुधार कार्यक्रम लागू गरनेछ ।

बाल विकास कक्षादेखि नै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्दै आधारभूत तथा माविको नतिजा सुधार गर्न बाल विकास कक्षा कोठाको स्तरोन्नति गरी प्रविधिमैत्री बनाइनेछ । नगरभित्र टिको छानो भएका सामुदायिक विद्यालयहरूमा फल्स सिलिङ राख्ने व्यवस्था मिलाइनेछ । आगामी शैक्षिक सत्रदेखि नगर क्षेत्रमा एक महिला विद्यालय सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ ।

स्वास्थ्य नागरिक समृद्ध तिलोत्तमा भन्ने नारालाई सार्थक बनाउन जेष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य शिविर, मधुमेह रोग निःशुल्क शिविर, पाठेघरको मुखको क्यान्सर भीआईए शिविर, आँखाको मोतियाबिन्दु पत्ता लगाउने निःशुल्क स्वास्थ्य शिविरका साथै आधारभूत सेवाका औषधिहरू नियमित रुपमा वितरण गर्ने व्यवस्था मिलाइनेछ । स्थनपान कक्ष निर्माण, आन्दबन स्वास्थ्य चौकी र समेरा बजार स्वास्थ्य चौकीबाट प्रदान गरिने भिडियो एक्स–रे तिलोत्तमा नगरबासी गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क रुपमा प्रदान गरिनेछ ।

नगरपालिकाभित्र रहेका विद्युतीय पोल, नेपाल टेलिकमका पोलहरू व्यवसायिक रुपमा समेत सञ्चालन भइरहेको हुँदा प्रतिपोलको वैज्ञानिक करको दर कायम गरी कर लिने नीति अवलम्बन गरिने नगरप्रमुख खाणले बताए ।

मणिग्राम नलिनि स्वास्थ्य चौकीको पुरानो भवनलाई स्तरोन्नति गरी बहुतले वहुउदेश्यीय भवनको निर्माण गरी रक्त संचार केन्द्र भवन तथा नगर सुपथ मूल्य फार्मेसी सञ्चालन गरिनेछ ।

फोहोरमैला व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्य गर्दै नवीन प्रविधिको प्रयोग गर्ने र तिनाउ नदी उकास तथा रोहिणी नदी उकास क्षेत्रमा ठाउँ पहिचान गर्दै फोहरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्रको स्थापनाको लागि योजनावद्ध पहल गर्ने कार्यक्रम छ । गणेशनगर आसपासका प्रभावित बासिन्दाका लागि विशेष राहत कार्यक्रम सञ्चालन हुनेछ ।

डिजिटल तिलोत्तमा कार्यक्रमलाई निरन्तरता दिइ सेवा प्रवाहलाई सरल सहज र पहुँच योग्य बनाउन थप कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।

Published : Wednesday, 2024 June 19, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया