अनुसन्धान विभागलाई गृह मन्त्रालयमा ल्याऔँ, रअ जस्तो प्रतिगुप्तचर पनि बनाऔँ : एमाले सांसद पन्त

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याउन सुझाव दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद पन्तले सूचना संकलन गर्ने गप्तचरी संस्था गृह मन्त्रालयसँग नहुँदा कसरी हुन्छ भनेर प्रश्न गरे । उनले साने भए पनि प्रधानमन्त्री कार्यालयमा प्रतिजासुसी संस्था बनाउन सुझाव दिएका छन् ।

उनले भने, ‘गृहमन्त्री कस्तो अवस्थामा भयो छोडिदिउ । तर, अहिलेको प्रधानमन्त्रीले स्वयं राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमा ल्याउनुपर्छ भनेर भन्नुभएको हो हिजो । त्यो ल्याउन जरुरी छ ।’

‘अनुसन्धान । राष्ट्रिय अनुसन्धानको इन्फर्मेशन नै गृहसँग हुँदैन भने त्यो त लङ्गडो हुन्छ । हो बरु हामीलाई चाहिएको अरु कुरा हो’, सांसद पन्तले भने ।

‘हाम्रो राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यानमा दिँदै प्रतिगुप्तचरी संयन्त्र चाहियो । सानै भए पनि बनाऔँ । आँट गरौँ’, उनले भने, ‘प्रधानमन्त्रीको मातहतमा बनाऔँ त्यसलाई ।’

एमालेका सांसद पन्तले भने, ‘हाम्रो देशका विरुद्ध यो भूमिभित्र कस्ता कस्ता षड्यन्त्र भइरहेको छ ? तिनीहरूलाई कसरी काउन्टर गर्ने भन्ने कुरा एउटा स्वतन्त्र देशले सोँच्नु पर्दैन ? सोच्नुपर्छ । सोँच्नुस् । प्रधानमन्त्रीले आँट गर्नुस् । यो विषयलाई अलिक गम्भीरतापूर्वक लिनुस् ।’

‘राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयतर्फ पठाइदिऔँ र प्रतिगुप्तरी संस्थालाई प्रधानमन्त्रीको डाइरेक्ट मातहतमा राखौँ । जसरी ईण्डियामा प्रधानमन्त्री इन्दिरा गान्धीले रअ आफ्नो डाइरेक्ट मातहतमा गठन गरेकी थिइन् । उदाहरणको रुपमा लिन सकिन्छ’, पन्तले भने ।

Published : Tuesday, 2024 June 18, 3:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया