कांग्रेस सांसद चौधरीद्वारा भौतिक र गृहमन्त्रीको आलोचना, मन्त्रीहरू पालिकाको अध्यक्ष र मेयर जस्तो

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेर ल्याएको भन्दै आपत्ति जनाएकी छिन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकको खर्चकटौतीमा सहभागी हुँदै सांसद चौधरीले कर्णालीको सडकलाई दुई लाख दिने मन्त्रीले जनकपुरको सडकलाई १ करोडभन्दा धेरै रकम दिएको बताइन् । उनले मन्त्रीले गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयरले जस्तो गरेर बजेट ल्याएको बताइन् ।

सांसद चौधरीले गृहमन्त्री रवि लामिछानेले संसदमा कांग्रेसका सांसदहरूविरुद्ध दिएको अभिव्यक्तिबारे जवाफ दिन प्रधानमन्त्रीको जवाफ माग गरिन् । उनले भनिन्, ‘गृहमन्त्रीज्यूले कांग्रेस नेताहरूलाई लक्षित गरेर केही विषयवस्तुहरू बोल्नुभएको थियो । सम्माननीय प्रधानमन्त्रीले जवाफ दिने भन्ने कुरा थियो । तर, अहिलेसम्म प्रधानमन्त्रीज्यूले केही जवाफ दिनुभएको छैन । सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले भनिन्, ‘सम्माननीय राष्ट्रपति विदेश भ्रमणमा हुनुहुन्छ । उहाँ देश बाहिर गएको हामी सांसदले पत्रपत्रिकाबाट थाहा पाएका छौँ । यो विषयमा पनि प्रधानमन्त्रीले सदनमा आएर जानकारी दिनुपर्ने थियो । उहाँले जानकारी दिनुभएको छैन । त्यो पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’

‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीज्यूले आफ्नो र आफू नजिककाको निर्वाचन क्षेत्रमा उपरीमाथि थुपरी लगाएर अरु ठाउँमा रित्तै राखेको भनेर प्रश्न हुन्छ । भौतिक मन्त्री उहाँ विकट प्रदेशबाट नै हुनुनुन्छ’, सांसद चौधरीले भनिन् ।

‘कर्णाली जस्तै मधेश प्रदेश कर्णालीमा धेरै राख्नु पर्ने थियो । उहाँले राख्नुभएको छ जनकपुरमा आफ्नो निर्वाचन क्षेत्रमा राखेको धेरै माननीयज्यूहरूले पनि भन्नुभयो । एउटा क्षेत्रलाई मात्रै मन्त्रीहरूले यदि बजेट राख्ने हो भने संघीयमन्त्री नभनौँ । मेयर जस्तो, गाउँपालिका अध्यक्ष, नगरपालिकाको मेयर, त्यसै क्षेत्रको मन्त्रीजी भनेर संविधान संशोधन गरौँ’, उनले भनिन् ।

‘यो संविधान संशोधन गरेर हरेक वर्ष हेर्नै, पर्दैन हामीले माननीयले गाली गर्नै पर्दैन । किन भने उहाँहरूलाई भन्दा राष्ट्रियस्तरमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हेरिरहेका होलान्’, उनले भनिन्, ‘के नेपालका सांसदहरूले मन्त्रीहरूमाथि कति खनिएको होला भनेर । यथार्थ खनिने नै रहेछ । खनिनुपर्ने नै रहेछ ।’

उनले भनिन्, ‘पीडा हुन्छ । मैले आफ्नो जिल्ला मात्रै किन भनु अब । आफ्नो निर्वाचन क्षेत्रको लागि मन्त्री बन्नुभएको हो ? यसले देशको विकास हुन्छ ?’

सांसद चौधरीले भनिन्, ‘कर्णालीमा पुलमा दुई लाख । जनकपुरको वडामा १ करोड ७१ लाख सडक बनाउन । मधेश प्रदेशमा ८ वटा जिल्ला छ । के जनकपुर पिछडिएको जिल्ला हो । होइन । राप्रपाको अध्यक्षले संसदमा यो किताब च्यात्नुभयो । यो के राम्रो हो ? किन भने उहाँको पीडा छ । च्यात्नु हुनछ । च्यातेकोमा सपोर्ट गर्छु । समर्थन गर्छु । किन भने यो च्यात्नुपर्छ । एकजनाले च्यातेपछि सबैले च्याते जस्तै भयो ।’

‘बजेट बनाउने तरिका परिवर्तन गरौँ । हामी जनप्रतिनि जाँदै नजाऔँ । विज्ञहरूलाई जिल्लामा पठाएर दुई तीन महिना अगाडिबाट सुझाव ल्याएर बजेट बनाउनुपर्छ’, उनले भनिन् ।

Published : Tuesday, 2024 June 18, 3:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया