भारतको राजदूत फिर्ता बालोलाउदा टाइमिङ मिलेन : कांग्रेस सांसद राणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण हुनुभन्दा दुई दिन पहिला राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेर कुटनैतिकता असफलता देखाएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै राणाले राजदूतलाई दुई दिन पहिला फिर्ता बोलाएर अपमान गर्न खोजेको हो भनेर प्रश्न गरेका छन् ।

राणाले भने, ‘भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भइसकेपछि उहाँको शपथग्रहण कार्यक्रममा हाम्रो प्रधानमन्त्री पनि जानुभयो । त्यसको दुई दिन अगाडि त्यहाँको राजदूत बोलाइयो । किन बोलाइयो ?’

‘फिर्ता बोलाउने तपाईहरूको अधिकार हो । मलाई भन्नु केही छैन । तर, टाइमिङको कुरा आयो’, उनले भने, ‘कुनै एउटा व्यक्तिलाई होच्याउन । कुनै एउटा पार्टीलाई हान्न । अथवा भारतमा यसले के म्यासेज दिएको छ ।’

सांसद राणाले भने, ‘हाम्रो सबैभन्दा ठूलो ट्रेडिङ पार्टनर । अनि कुटनैतिक राजनीतिको हामी कुरा गर्ने ? यस्ता विषयमा पनि म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

सांसद राणाले बजेट बनाउनुभन्दा पहिला सम्बन्धित क्षेत्रको सांसदसँग समन्वय र छलफल गरेर बजेट दिनुपर्ने बताए । उनले सांसदहरूलाई रातो किताब हेरेर बजेटको जानकारी लिनुपर्ने प्रावधान राम्रो नरहेको बताए ।

उनले भने, ‘यो बजेट कोष जनता की सरकारको ? जनताको भए हामी सांसदहरू विपक्षी दलको सांसद मात्रै होइन की सत्तापक्षका सांसद पनि हामीले हाम्रो क्षेत्रमा कति पैसा पर्‍यो भनेर रातो किताब किन कुर्न पर्ने ? हाम्रो योभन्दा अगाडि हाम्रो जिल्लामा कति पैसा परेको छ सम्बन्धित सडक विभागले हामी त्यहाँका सांसद, त्यहाँका मेयर, उपमेयर, वडाध्यक्षहरूलाई बोलाएर तपाईहरूको प्राथमिकता के हो ? सोध्न किन नसक्ने ? त्यो आधारमा बजेट किन बढ्न नसक्ने ? किन एउटा कर्मचारी एउटा मन्त्री र प्रधानमन्त्रीको हातमा बजेटहरू छुट्टिनु पर्ने ? हामीहरू भनेको जनताको प्रतिनिधि पनि हो ।’

‘अब आउने समयमा ओपन बजेटको कन्सेप्टमा हामी जनताका कामबाट पनि सुझाव लिनुपर्ने हुन्छ’, कांग्रेसका सांसद राणाले भने ।

सांसद राणाले स्थानीय तहमा चार चरणमा पैसा पठाउने गरेको भन्दै भन्दै त्यसलाई घटाएर दुई वा तीन चरणमा बनाउन आग्रह गरेर । विशेष गरेर अन्तिम चरणमा पठाउने रकम कहिले ढिला पुग्ने, कहिले नपुग्ने स्थानीय तहमा पठाउने रकम छिटो पठाउन सुझाव दिए ।

सांसद राणाले गृहमन्त्री रवि लामिछानेका क्रियाकलाप र गतिविधिप्रति गम्भीर प्रश्न उठाउदै चुनावमा गरेका प्रतिवद्धतालाई स्मरण गर्न सचेत गराएका छन् ।

राणाले भने, ‘मेरो प्रश्न गृहमन्त्रीज्यूलाई तपाईलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज, नटअगेन विभिन्न नारामा माया गरेर निर्वाचित गर्नुभयो । गृहमन्त्रीज्यू यो नारा कहाँ गयो ।’

Published : Tuesday, 2024 June 18, 2:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया