काठमाडौंमा अस्मितासहितका भ्रष्टाचार विरोधी कथित अभियन्ताहरू पक्राउ

काठमाडौं । अभियन्ताको नाममा काठमाडौंमा ठगी गर्ने कार्यमा संलग्न १ महिलासहित तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३१ को राजु सुनार, गोकर्णेश्वर नगरपालिका वडा नं.८ बस्ने वर्ष २६ को आदर्श क्षेत्री, गोकर्णेश्वर नगरपालिका वडा नं. १ बस्ने वर्ष २० की अस्मिता खत्री र गोकर्णेश्वर नगरपालिका वडा नं.२ बस्ने वर्ष ४५ को प्रेमप्रसाद श्रेष्ठ रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो समूहले आफूलाई भ्रष्टाचार बिरोधी अभियन्ता हुँ भन्दै गोकर्णेश्वर नगरपालिकाभित्र गैह्र कानूनी रुपमा ‘बेथिति एवं भ्रष्टाचारबिरुद्धको अभियान २०८०’ नामक संस्था खोली बिभिन्न वडाहरूमा त्यसका शाखाहरू समेत अबैध रुपमा बिस्तार गरी बिभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, बिभिन्न टोल सुधार एवं उपभोक्ता समिति आदिमा गएर ठगी गरेको मंगलबार प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले हामीहरू भ्रष्टाचार बिरोधी अभियन्ता हौं तिमीहरूको बिरुद्धमा भ्रष्टाचार गरेको, कर छलि गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौं, हामीलाई सबै हिसावकिताब देखाउ भन्दै असम्बन्धित सूचनाहरू माग्ने गरेका थिए ।

पदाधिकारी तथा कर्मचारीहरूलाई धम्काउने, मुद्धा हालदिन्छु भनि आतंक सृजना गरी भिडियो बनाई अनाधिकृत तवरले रकम समेत असुली गरी ठगी गर्ने तथा पुष्टि नै नभएका कुराहरूलाई सामाजिक संजालमा राखी चरित्र हत्या गर्ने जस्ता कार्यहरू गर्ने गरेको खुलेको छ ।

प्रहरी वृत्त बौद्दमा परेको जाहेरीको आधारमा उनीहरूको खोजतलास गर्ने क्रममा सोमबार पक्राउ गरिएको छ । उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

Published : Tuesday, 2024 June 18, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया