ओली र महासेठको आलोचना भएपछि सभामुखले ज्ञानेन्द्र शाहीको माइक काटिदिए

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आकस्मिक समयमा बोलिरहेका बेला माइक काटिदिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै बजेटमा कर्णालीका जिल्लाहरूलाई अन्याय भइरहेको भन्दै विरोध गरेपछि सभामुख घिमिरेलाई तनाब भएको छ । एमालेबाट सभामुख बनेका घिमिरेले एमालेका अध्यक्ष केपी ओलीको जिल्ला झापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको जिल्ला धनुषाका विषयमा प्रश्न उठेको मन नपरेपछि माइक काटिदिएका हुन् ।

सांसद शाहीले भने, ‘भौतिक मन्त्रीलाई भन्न चाहन्छु । तपाई नेपालको मन्त्री हो की धनुषाको मन्त्री हो ? डाटा छ मसँग हावामा बोलेको होइन ।’

उनले भने, ‘धनुषाको ३ र ४ नम्बर क्षेत्रमा गरी भौतिक पूर्वाधार मन्त्रालयले धनुषा जिल्लामा ८ अर्ब ७७ करोड ४ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । झापा जिल्लामा ६ अर्ब ७० करोड विनियोजन गरेको छ । टोटल गरेर १५ अर्ब ४७ करोड ४५ लाख झापा प्लस धनुषा गरेर गर्नुभएको छ ।’

सांसद शाहीले भने, ‘सिङ्गो कर्णालीको १० वटा जिल्लालाई समेटेर उहाँले बजेट विनियोजन गर्नुभएको छ ७ अर्ब ३६ करोड ४८ लाख १४ हजार ।’

महासेठ एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन् । महासेठले आफ्नो गृहजिल्ला धनुषा र एमालेका अध्यक्ष ओलीको जिल्ला झापामा ठूलो बजेट राखेपछि विरोध भएको छ ।

सभामुख घिमिरेले संसदमा निष्पक्ष रुपमा सदन चलाउन नसकेको, एमालेलाई मात्रै काखी च्यापेको भनेर आरोप लागेका बेला फेरि सभामुख घिमिरेले एमालेका अध्यक्ष ओली र भौतिक मन्त्री महासेठको आलोचना हुँदा माइक काटेर सभामुख पदको गरिमा बचाउन सकेका छैनन् ।

Published : Tuesday, 2024 June 18, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया