सोविताले खोलिन् प्रदीपको कर्तुत्, नेपाललाई फाइदा हुने फाइल हेडक्वाटरबाट गायब

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका साथै प्रतिनिधिसभाको बैठकमा समेत पटक पटक गम्भीर कुरा उठेका छन् ।

नेपालको हवाइ क्षेत्रको सुरक्षालाई लिएर प्रतिनिधिसभामा बेलाबेला कुरा उठ्ने गरेका छन् । महानिर्देशक अधिकारीले हवाइ उड्डयनलाई सुरक्षित बनाउनेतर्फ उचित कमद उठाउन नसकेको आरोप लाग्दै आएको छ । युरोपियन यूनियन (ईयू)ले दिएको सुझावहरूलाई लुकाएर गायब बनाएको आरोप पनि छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सबैभन्दा धेरै कुरा उठाउने गरेकी छिन् । गौतमलाई नागरिक उड्डयनका विषयमा निकै चिन्ता छ ।

महानिर्देशक अधिकारीलाई ईयूको प्रतिवेदन लुकाएर किन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई एकोहरो दोष दिएको ? भनेर प्रश्न उठ्ने गरेका छन् । महानिर्देशक अधिकारीले नेपाललाई ईयूको कालोसूचीबाट हटाउन के पहल गरिरहेका छन् ? पटक पटक प्रश्न उठ्दा पनि चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

महानिर्देशक अधिकारीले निजी विमानलाई विरलै कारवाही गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । उनले किन राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई पाइलैपिच्छे कारवाही गरेको भनेर पनि प्राधिकरणभित्र प्रश्न उठ्ने गरेका छन् ।

सांसद गौतमले हवाइ उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउन आग्रह गर्दै आएकी छिन् । प्राधिकरणलाई टुक्र्याएर नेपाललाई कालोसूचीबाट निकाल्न महानिर्देशक अधिकारी चाहँदैनन् । प्राधिकरण टुक्रिनेवित्तिकै महानिर्देशकको सेवासुविधा बाँडिन्छ भने अधिकार पनि कटौती हुन्छ । सोही कारण खाइपाइ आएको सेवा सुविधा बचाउन बरु नेपाललाई कालोसूचीमा राखेरै भए पनि महानिर्देशक हालिमुहाली गर्न चाहन्छन् ।

गत शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद गौतमले यूरोपियन युनियन (ईयू)ले नागरिक उड्डयनलाई सेवा प्रदायक र नियामक निकाय बनाउन सुझाव दिएको बताइन् ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणमा त्यस्तो के छ र ? टुक्र्याएर कालो सूचीबाट हटाउन नमानेको भनेर गौतमले प्रश्न गरेकी छिन् ।

उनले भनिन्, ‘पर्यटनको अर्को आधारस्तम्भ भनेको एभिएशन ईण्ड्रस्टिज हो । तर, यो एभिएशन सेक्टर यती धेरै छाडापन भइसक्यो की अब लाज पनि लजाउने बेला भइसक्यो । मैले धेरै पटक यहि, म निर्वाचित भएर आएपछि यहि संसदको रोष्ट्रमबाट, त्यहाँ अगाडिबाट कति धेरै पटक मैले यसको बारेमा उठान गरिसके नेपालको सम्पूर्ण हवाइ क्षेत्र २०१३ बाट निरन्तर रुपमा ईयूको कालोसूचीमा परेको छ ।’

सांसद गौतमले भनिन्, ‘हरेक दुई दुई वर्षमा उडान सुरक्षा पुनरावलोकन गर्दा ईयूले एउटै कुरा भनेको छ । अडिट गर्दाखेरी मूल रुपमा सारंशमा नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक छुट्टाइदिनुस् भनेर सुझाव पटक पटक दिइरहेको छ ।’

उनले भनिन्, ‘त्यो सुझाव जुन मन्त्री आएपछि लागू गर्न नसक्ने । धेरै पटक मन्त्री भइसक्नुभयो । यहाँ माननीयज्यूहरू पनि हुनुहुन्छ मन्त्रीको रुपमा हुनुहुन्न ।’

‘तर, त्यो लागू गर्छु भन्नु हुन्छ बाचा सबैले गर्नुभएको छ तर, गर्न नसक्ने के रहेछ ? नागरिक उड्डयन प्राधिकरणमा त्यो शक्ति कसको धेरै शक्ति निगाह रहेछ त्यो नागरिक उड्डयन प्राधिकरणमा कसैले पनि ईयूले त्यति धेरै सुझाव दिँदा हामी कालो सूचीमा पर्दाखेरी पनि हामीले त्यो छुट्टाउन नसकेको’, उनले भनिन् ।

‘मन्त्रीज्यू कहिले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउने हो ? यसको जवाफ पनि माग गर्न चाहन्छु’, सांसद गौतमले भनिन् ।

Published : Monday, 2024 June 17, 9:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया