चालक अनुमतिपत्र बेचुवा भ्रष्ट ५ सरकारी कर्मचारीहरू पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले नक्कली सवारीचालक अनुमतिपत्र जारी गर्ने कार्यमा संलग्न पाँच जना कर्मचारीहरूलाई पक्राउ गरेको छ ।

यातायात व्यवस्था विभागको केन्द्रीय सवारी चालक अनुमतिपत्र प्रणाली (इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स) लागू हुनुभन्दा अगाडिको प्रणाली कार्यान्वयनमा रहेको प्रणालीमा स्थानान्तरण हुन बाँकी सवारीचालक अनुमतिपत्रहरू घोटाला गरेको अभियोगमा सो कार्यमा संलग्न कर्मचारीहरूलाई पक्राउ गरिएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुमतिपत्र वितरण गर्दा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरू समेतको मिलेमतोमा प्रणालीमा फर्जी विवरणहरू ईन्ट्री गरि सोका आधारमा गैह्र कानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको हुँदा सो कार्यमा संलग्न तपशिलका कर्मचारीहरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिई लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ सेरा फूलबारी स्थायी ठेगाना भएका यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख वर्ष ४५ को उपसचिव केशव अर्याल रहेको विज्ञप्तिमा उल्लेख छ ।

नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ५ ड्राईभर चोक स्थायी ठेगाना भएका यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्यूटर अधिकृत वर्ष ३७ का पदमराज आचार्यलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पाल्पाको तानसेन नगरपालिका वडा नं. ३ धोवीधारा स्थायी ठेगाना भएका तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत वर्ष ३३ को शाखा अधिकृत छैठौं सुवास पौडेललाई पनि सीआइबीले पक्राउ गरेको छ ।

तनहुँको साविक किहु गाविस वडा नं. ९ स्थायी ठेगाना भई हाल नवलपुरको गैडाकोट नगरपालिका ठेगाना भएका यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत वर्ष ३० को सहायक कम्यूटर अपरेटर राजेश लम्साललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा नं. १ घर भएका यातायात व्यवस्था कार्यालय जनकपुर धनुषामा कार्यरत सहायक कम्प्युटर अपरेटर वर्ष ४७ का दिलीपकुमार साहलाई पनि सीआइबीले पक्राउ गरेको छ ।

Published : Sunday, 2024 June 16, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया