भन्सार दर र अन्तशुल्क प्रणालीमा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू उल्लङ्घन : डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले अतिआवश्यक सामग्रीहरूको आयातमा ४० प्रतिशतसम्म मूल्य वृद्धि हुन सक्ने बताएकी छिन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै डा.राणाले अति आवश्यक वस्तुहरूको मूल्य कम्तिमा ४० प्रतिशतभन्दा बढीले बढ्न सक्ने भन्दै सचेत गराएकी छिन् ।

उनले भनिन्, ‘जीवित जनावर, मासु, तरकारी, फलफूल र बदामको आयातमा १० प्रतिशत अग्रिम आयकरको प्रस्ताव गरिएको छ ।’

‘अग्रिम आयकरको प्रावधान तपाई हामीले आफ्नो आय गर्दा आयसँगै कर तिर्ने सिद्धान्तमा आधारित नै छ ।’

‘यो प्रावधानले आयातकर्ताहरूलाई सुनिश्चित आय बिना आयातको समयमा कर तिर्न बाध्य पार्छ’, डा.राणाले भनिन् ।

‘कारोबार मूल्यमा १० प्रतिशत कर तिर्न व्यापारीले न्यूनतम ४० प्रतिशत नाफा कमाउनु पर्छ’, उनले भनिन्, ‘यसको अर्थ यी अति आवश्यक वस्तुहरूको मूल्य कम्तिमा ४० प्रतिशतभन्दा बढीले बढ्न सक्छ ।’

उनले भनिन्, ‘हामी निर्वाचित सांसद हौं र हामीले नीति बनाउने हो र हामीले जनताको प्रतिनिधित्व गर्छौँ । तर, यो कर व्यवस्थाले गर्दा नेपालमा प्रतिनिधित्व सहित अत्याचार पूर्ण कर लगाउने काम हुन गएको उल्लेख गर्न चाहन्छु ।’

‘हामीले हाम्रो भन्सार दर र अन्तशुल्क प्रणालीमा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू उल्लङ्घन गरेका छौं’, डा.राणाले भनिन्, ‘म सरकारलाई सचेत गराउन चाहन्छु कि यस्ता कार्यले भविष्यमा हाम्रो व्यापार र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धमा समस्या निम्त्याउन सक्छ ।’

Published : Sunday, 2024 June 16, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया