चलचित्र निर्माणअघि अध्ययन आवश्यक : ज्योतिराज राई

काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईले चलचित्र निर्माणअघि अध्यायन र अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् ।

शनिबार बुटवलमा मातृभाषी चलचित्र प्रवर्द्धन समिति आदिवासी र जनजाती चलचित्र महासंघको आयोजना र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह–आयोजनामा आयोजित मातृभाषी चलचित्रको निर्माण प्रवर्द्धन बजारीकरण विषयक अन्तर्क्रियामा राईले अध्यायन र अनुसन्धान सहित निर्माण भएको चलचित्रको बजार प्रवर्द्धनमा सजिलो हुने बताए ।

चलचित्र विकास बोर्डको सहयोगमा रहेका संयोजक राईले आदिवासी र जनजाती चलचित्रको प्रवर्द्धनको लागि समिति गठन भैसकेकोले आगामी दिनमा चलचित्रको बजारीकरण सहज हुने बताए ।

‘आदिवासी जनजाती चलचित्रहरू फेस्टिवल र च्यारिटीमा मात्र सीमित नभएर अन्य चलचित्रहरूसँग पनि प्रतिस्पर्धामा जाने गरेका छन्’, उनले भने, ‘त्यसैले चलचित्र निर्माण गर्दा आदिवासी जनजातीहरूको भावनामा ठेस लाग्ने, उनीहरूको भाषा कला, साहित्य र संँस्कृतिमा आच आउने कुरामा ध्यान दिनपर्छ ।’

चलचित्रमार्फत नयाँ पुस्तामा संस्कृति सिकाउने भएकाले पनि चलचित्र निर्माण गम्भीर हुनुपर्ने राईले बताए ।

आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरू नेपालका मुलवासी भएकाले आफूहरूको भाषा नै नेपालको मुल भाषा भएको बताए । उनले आदीवासीका भाषामा बनेका चलचित्रहरूलाई विश्व बजारमा पुराउने काम महासंघको रहेको बताए ।

मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवर्द्धनमा विशेष योगदान पुराउने मेजन पुन मगर, धनबहादुर गुरुङ र छबिलाल चौधरीलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातीहरूको भाषा संस्कृतिलाई दमन गरेकै कारण आदीवासीहरूको कथामा निर्माण गरिएको चलचित्रहरूले बजार पाउन नसकेको आरोप लगाए ।

Published : Sunday, 2024 June 16, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया