ओलीको लोकप्रियतामा गिरावट, अर्बौका घोटालामा जोडिए, पार्टीभित्र विद्रोह, कुरा पत्याउन छाडे

काठमाडौं । कुनै बेला एमालेका अध्यक्ष केपी ओलीले बोलेका अभिव्यक्तिलाई जनताले निकै विश्वास गर्थे । ओलीले झुठ कुरा बोल्दा पनि जनताले पत्याउथेँ । जसको परिणाम ०७४ को चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई झण्डै दुईतिहाई बहुमत दिए ।

ओलीलाई त्यो बहुमत पचेन । संसद दुई पटक विघटन गर्न पुगे । एमालेलाई पनि बचाउन सकेनन् । एमाले र तत्कालीन नेकपा भन्ने पार्टी नै विभाजन हुन पुग्यो ।

अहिले आएर ओलीले एमाले पार्टी बचाउन संसद विघटन गर्नु परेको तर्क दिइरहेका छन् । ओलीले एमालेलाई बचाउन संसद विघटन गरेको तर्क दिनु भनेको त्यसको सबै दोष माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लगाएका हुन् ।

तत्कालीन समयमा ओलीले एमालेलाई एक्लै बहुमतमा पु¥याउन संसद विघटन गरेको बताएका थिए ।

जे होस् । ओलीको त्यो लोकप्रियतामा अहिले आएर निकै ह्रास आएको छ । ओलीले बोलेका कुरालाई एमालेका नेता कार्यकर्ताका लागि रुचिको विषय भए पनि अरुलाई खासै मतलव छैन । ओलीको अभिव्यक्तिलाई मनोरञ्जनका रुपमा हेर्ने र लिने गरिएका छन् ।

ओलीले दिनमा दुई/तीन वटा कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् । उनको समाचारलाई पहिला जस्तो दर्शक, स्रोता र पाठकले पढ्दैनन् । ओलीका भिडियो पनि भ्यूज जान छाडेको छ । यो भनेको ओलीको लोकप्रियतामा ह्वात्तै गिरावट भएको संकेत हो ।

ओली प्रधानमन्त्री बनेका बेला यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु टि इस्टेट जग्गा घोटाला काण्ड, फोरजीको १९ अर्ब घोटाला आदि काण्ड बाहिरिएपछि जनताले विश्वास गर्न छाडेका हुन् । आफूमाथि निरन्तर घोटा, भ्रष्टाचार, अनियमिताका कुराहरूको समाचार आउन थालेपछि ओली आत्तिएका छन् । आफूविरुद्ध आउने समचारको तत्काल खण्डन गरिहाल्छन् । यो भनेको ओलीमा अस्थिरता, हतोत्साहितको उपज हो भनेर टिप्पणी हुन थालेका छन् । ओलीले गरेका विभिन्न घोटाला र काण्डहरूको छानविन गर्न मागसहित प्रतिनिधिसभाको बैठकभित्रै कुरा जबरजस्त उठेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ओलीले गरेका घोटाला र काण्डको छानविन तथा कारबाहीको माग गरेपछि एमालेका अध्यक्ष ओलीलाई निकै बेचैन भएको छ ।

शनिबार संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा ओलीले आफूलाई ५ अर्ब खायो भनेर आरोप लागेको बताएका थिए । उनले त्यस्ता समाचारको खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । आफूविरुद्ध लागेका आरोपको छानविनमा सहयोग गर्नुको साटो ओलीले आक्रोशित भएर प्रतिक्रियावादीले लगाएको आरोप भनेर पन्छिन खोज्नु सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको नेतालाई सुहाउँदैन । ओलीले आफूमाथि लागेका आरोप र अभियोगका बारेमा छानविन गर्न बाटो खोलिदिनुपर्छ ।

ओली प्रधानमन्त्री बनेका बेला खर्बौं रुपियाँ अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । आफ्नो गृहजिल्ला झापामा कामनकाजको भ्यू टावर बनाएर ओलीले निकै अलोकप्रिय कार्य गरेका छन् ।

चुनावका बेला बोलेका र सरकारमा रहेका बेला दिएका अभिव्यक्तिअनुसार ओलीले घरघरमा ग्यासको पाइप जोड्ने, समुद्रदेखि नेपालसम्म नदीमार्फत पानीजहाज सञ्चालन गर्ने, चीनको केरुङ–पर्वत–पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग चलाउने लगायतका आदि योजना सुनाएर जनतालाई झुक्काए । ओलीका अब यस्ता बकमफुसे कुरा जनताले विश्वास गर्दैनन् ।

एमालेभित्र ओलीका सामू केन्द्रीय नेताहरू आँखा जुधाएर बोल्न सक्दैन थे । जवाफ फर्काउन सक्दैन थे । कार्यकर्ताहरू त झन् ओलीको छेउमा जान डराउथेँ । ओलीको निरंकुशता र अधिनायकवाद सहन नसकेको समूह नेकपा (एकीकृत समाजवादी) गठन गरेर गयो । एमालेमा रहेका भीमबहादुर रावल जस्ता नेताहरूलाई भित्तामा पुर्‍याइयो ।

ओलीको सामुन्ने बोल्न र कुरा राख्न डराउने नेता कार्यकर्ताहरूले क्रमशः आफूलाई ओलीको डरबाट बाहिर निकाल्न थालेका छन् । एमालेको जिल्ला अधिवेशनहरू चलिरहेको छ । अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भएको छ । ती जिल्लामा ओलीको चाहना विपरित अधिवेशन भएका छन् । ओलीले आफूले चाहेको व्यक्तिलाई जिल्ला अध्यक्ष बनाउन चाहेका थिए । ओलीको त्यो चाहना अधिकांश जिल्लामा हावा खाएको छ । २/३ वटा जिल्लामा बाहेक सबै जिल्लामा अध्यक्ष पदमा निर्वाचन भएको छ । निर्वाचनमा पनि ओलीलाई नरुचाउन नेताहरू पनि निर्वाचित भएका छन् । ओलीको इच्छा विपरित जिल्लाहरूमा निर्वाचन हुनु भनेको एमालेमा विद्रोहको संकेत हो । आउने दिनमा एमालेभित्र ओलीलाई झन् समस्या हुनेछ ।

Published : Saturday, 2024 June 15, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया