लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन गर्न बजेटमा कार्यक्रम

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले विश्वलाई शान्तिको मुहानका रुपमा स्थापित गर्न लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को शनिबार सार्वजनिक भएको बजेटमा लुम्बिनीमा शिखर सम्मेलन गर्ने कार्यक्रम राखिएको छ ।

मुख्यमन्त्री जोखबहादुर महरालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध र लुम्बिनीको सन्देश विश्वव्यापी बनाउन आग्रह गरेअनुसार बजेटले सम्बोधन गरेको छ ।

‘विश्वलाई शान्तिको महशुस गराउन भगवान बुद्धले निर्वाणको समयमा भन्नुभएको जीवनकालमा लुम्बिनीमा कम्तिमा एक पटक पाइला टेक भन्ने भनाइ सहित लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनको आयोजना गरिनेछ’ बजेट वक्तव्यमा भनिएको छ ।

लुम्बिनी सरकारले बुद्धको जीवनसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला लक्षित बुद्धको जीवनदर्शन र ज्ञानलाई कार्यस्थलमा रुपान्तरण हुने गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

लुम्बिनी सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ ।

यसअघि संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले लुम्बिनीलाई बर्थिङ हब बनाउने कार्यक्रम सहितको बजेट ल्याएको छ ।

नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाउन लुम्बिनीमा बर्थिङ्ग र जनकपुरलाई वेडिङ हव बनाउने घोषणा गरिएको बताइएको छ ।

Published : Saturday, 2024 June 15, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया