युवा पलायनले जनसंख्या वृद्धिदरमा संकट, दक्ष जशक्ति पाउने छैनौँ : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विदेश पलायन हुने युवा पुस्तालाई रोक्ने गरेर कार्यक्रम र योजना ल्याउन नसक्ने हो भने केही वर्षभित्र दक्ष जनशक्ति पाउन नसकिने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै पूर्वमन्त्री समेत रहेका सांसद भण्डारीले रोजगारीका लागि छुट्टाइएको बजेट निकै थोरै भएको बताए । उनले अध्ययन गर्न विदेश जाने र उतै पलायन हुने तथ्याङ्क निकै कहाली लाग्दो अवस्थाको रहेको बताए ।

उनले भने, ‘युवा पलायन तिब्र छ । श्रमिक पलायन भएर उद्योगधन्दा, विकास निर्माण समयमा बन्न सकेन भन्दै आएका छौं । युवा पलायनले जनसंख्या वृद्धिदर नै गम्भीर संकटमा परेको अवस्था छ ।’

‘देशमा बस्तु उत्पादन हुन छाड्यो । सबैले विदेशको उत्पादन प्रयोग गर्ने र भन्सारमा उठाएको करले देश चलाउने अवस्था आयो । त्यतिले मात्रै पुगेन’, उनले भने ।

‘१२ कक्षा उत्तीर्ण गर्दा नगर्दै होनहार प्रतिभाहरू विदेशमा पढ्न हिँड्न थाले’, सांसद भण्डारीले भने, ‘मेधावी युवा, युवती नफर्किने जोखिम ह्वात्तै बढ्यो ।’

उनले भने, ‘भविष्यमा सार्वजनिक प्रशासन निजामती, सुरक्षा निकाय, प्राधिक क्षेत्र, डाक्टर, ईन्जिनियर, पाइलट, वकिल आदि लगायतमा काम गर्ने उच्च दक्ष प्रतिस्पर्धी जनशक्ति नै नरहने र मध्यमखालका कमजोर र कम प्रतिस्पर्धी व्यक्तिको हातमा त्यस्तो जिम्मेवारी जाने लक्षण देखिएको छ ।’

पूर्वमन्त्री एवम् सांसद भण्डारीले पुँजिगत खर्च पनि गर्न नसकिने अवस्था कसरी आयो भनेर गम्भीर भइ समीक्षा गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘अलिकति छुट्टाइएको पुँजिगत बजेट पनि दुईतिहाइ पनि खर्च हुन सक्दैन । अनि विकास कहाँबाट हुन्छ ? यसमा सुधारको पहल किन भएन ? पुँजिगत खर्च क्षमता बढाउनेतर्फ छलफल केन्द्रित होस् ।’

मुलुकमा जडीबुटीको प्रचुर सम्भावना रहेको भन्दै जडीबुटी प्रशोधन, औषधि उत्पादन गरेर अर्थतन्त्र सुधारमा काम गर्न सकिने बताएका छन् । भण्डारीले उस्तै प्रकृतिका संस्थालाई मर्जर गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने पनि बताएका छन् ।

उनले भने, ‘जडीबुटीको एउटा प्रशोधन केन्द्र बनाउन सकेका छैनौँ । जडीबुटी तथा उत्पादन प्रशोधन कम्पनी छ । त्यसले केही राम्रो काम गरिरहेको मैले सूचना पाएको छु ।’

‘नेपाल औषधि लिमिटेड । कहाँ छ ? के गर्दै छ भन्ने कसैलाई थाहा छैन । सिंहदरबारस्थित बैद्यखाना । यी निकायहरू के गर्दै छन् अहिले ?’, उनले भने, ‘यिनको उत्पादन के छ ? यिनले डेलिभरी के दिइरहेका छन् ? मेरो सल्लाह छ । यी तीन निकायलाई मर्जर गरेर एउटै संस्था बनाएर, एउटै कम्पनी बनाएर नेपालमा उत्पादित जडीबुटीलाई अधिकत्म प्रयोग गरेर देशको आर्थिक उन्नतिमा लगाउनुपर्छ ।’

Published : Friday, 2024 June 14, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया