भारतबाट २ प्रतिशत पर्यटक भित्र्याउने हो भने हाम्राे अर्थतन्त्र सुध्रिन्छ : कांग्रेस सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले विश्वको तेस्रो अर्थतन्त्र बन्न लागेको भारतबाट २ प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने नेपालको अर्थतन्त्र सुधारमा ठूलो मद्दत पुग्ने बताएकी छिन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले बजेटको किताबमा भारतका मन्त्री र सचिव लगायत सरोकारवाला निकायसँग समन्वय गरे पर्यटक भित्र्याउन तयारीका विषयमा बजेट र कार्यक्रम नदेखिएको बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार आवश्यक पर्ने बताएकी छिन् ।

‘नेपाल सरकारले भारतीय सरकारसँग मन्त्रिस्तरीय, सचिवस्तरीय वार्ता गरेर भारतीय पर्यटकको संख्या बढाउन ठोस पहल गर्नुपर्ने हो । योजनाहरू बनाउनु पर्ने हो । त्यससम्बन्धी कुनै पनि कार्यक्रम राखिएको छैन’, चौधरीले भनिन् ।

‘भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्न लागेको बेला त्यहाँको दुई प्रतिशत नागरिक मात्रै हामीले पर्यटकको रुपमा भित्र्याउन सक्यौा भने हाम्रो पर्यटन क्षेत्रको कायापलट हुन्छ । त्यति पर्यटक पनि ल्याउन सकिन्छ । किन भने भारतीय जनतालाई नेपाल आउन सहज छ । भारतबाट आउन र नेपालबाट जान भिसा, पासपोर्ट केहीको जरुरी छैन । बसबाट आउन सकिन्छ । फ्लाइटबाट पनि आउन सकिन्छ । भारतीयलाई आउन सजिलो छ’, उनले भनिन् ।

उनले भनिन्, ‘बजेट पुस्तिका हेर्दा देशको अर्थतन्त्रको एउटा मुख्य स्रोत पर्यटन हेर्ने पर्यटन मन्त्रालयको प्राथमिकता चाहिँ तोकको भरमा १० लाखदेखि १ करोडसम्म टुक्रे योजनाहरू बाँड्नेभन्दा माथि उठेको देखिएन ।’

‘पर्यटन क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना, बजार विस्तार, कनेक्टिभिटी लगायतका कुराहरूलाई ध्यानमा राख्दै कार्यक्रमहरू आउनु पर्ने हो’, चौधरीले भनिन् ।

उनले भनिन्, ‘पर्यटन विकास भनेर हामीले गरेका ठूला लगानी पनि केही प्रतिफल दिइरहेका छन् । त्यसमा पनि हामीले गम्भीर समीक्षा गर्नुपर्छ ।’

उनले भनिन्, ‘नेपालका रारा, शेफोक्सुण्डो, अपी साइपाल जस्ता सम्भावना भएका कति पर्यटकीय स्थलहरूमा पूर्वाधारकै कमीले पर्यटकहरू जान सक्दैनन् । त्यो प्रतिफल नदिने २२ अर्ब लगानीले नेपालका कति पर्यटकीय क्षेत्रहरूको विकास गर्न सकिन्थ्यो र ? पर्यटकहरूलाई जान सहज हुने थियो ।’

‘पर्यटन नेपालको अर्थतन्त्रको बलियो स्रोत हो । पर्यटक बढाउनको लागि बाटो र पूर्वाधार विकास भएको हुनुपर्छ’, सांसद चौधरीले भनिन् ।

‘रारा, शेफोक्सुण्डो, अपी जस्ता कर्णाली र सुदूरपश्चिममा पर्यटकीय स्थलमा बाटो र पूर्वाधार विकासले पर्यटक र ठूला ठूला व्यवसायी मात्र नभएर त्यही गाउँ भेग र प्रदेशका स्थानीय जनतालाई व्यापार र रोजगारीका विभिन्न अवसरहरू सिर्जना हुन्छ’, उनले भनिन् ।

‘राज्यको प्राथमिकतामा केही आर्थिक रिटर्न नदिने संरचनाको लागि ठूलो रकम ऋण लिन सहज छ । तर, हजारौँ पर्यटकीय क्षेत्रहरू जसमा पूर्वाधार नभएर प्रचुर सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेका छन् । त्यस्तोमा लगानी गर्न इच्छाशक्ति भने छैन’, चौधरीले भनिन् ।

उनले भनिन्, ‘हाम्रो देशमा भगवानले हामीलाई धेरै प्राकृतिक दिनु भएको छ । त्यो प्राकृतिक ठाउँमा बाटोघाटो, बिजुली, पानी सुविधा भयो भने होटल बन्छ, पसल हुन्छ र त्यो गाउँको अवस्था उकासिन्छ ।’

‘म एउटा उदाहरण दिन चाहन्छु । भारतको साइबाबा सिरडी जानुस् । त्यो गाउँ एकदमै गरिब थियो, कुनै बेला । छ महिना मान्छे अन्त काम गर्न गएर, छ महिना त्यहाँ बसेर खाने गर्थे । आफ्नो परिवारसँग बस्थे । अहिले हरेक घर, हरेक ठाउँमा होटल भइसकेको छ । लाखौँको संख्यामा त्यहाँ तीर्थयात्री साइबाबाको दर्शन गर्न जान्छन् । त्यो गाउँ अहिले कति धनी भइसक्यो । धेरै साथी त्यहाँ गएर आइसक्नुभएको छ होला’, उनले भनिन् ।

‘नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ । हामी १४० करोड जनसंख्या भएको मुलुकको छिमेकी राष्ट्र हौँ । जुन जनसंख्यासँग हाम्रो धार्मिक तथा सांस्कृतिक आस्था मिल्छ । हामीले बाबा पशुपतिनाथसँग काशी विश्वनाथ, अयोध्यासँग जानकी मन्दिर, मुक्तिनाथसँग केदारनाथ, लुम्बिनीसँग बोधगया मुख्य धार्मिकस्थलमा धार्मिक करिडोर बनाउन पहल गर्‍यौँ भने धेरैभन्दा धेरै भारतीय पर्यटक आकर्षिकत गर्न सक्छौँ । यो बजेट पुस्तिकामा जानकी मन्दिरको लागि कुनै पनि योजना देखिन । मधेशका अन्य धार्मिक स्थालको तथा प्रचारको लागि केही कार्यक्रम राखिएको छैन’, उनले भनिन् ।

Published : Friday, 2024 June 14, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया