नेपालमै पैसा छाप्न सक्छौँ, विदेश लगेर कमिशन खान पल्केकाहरूले छाप्न दिँदैनन् : कांग्रेस सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सुरक्षण मुद्रणमा छापाइ गरेर अर्बौं रकम बिदेश जानबाट रोक्न सकिने बताएका छन् ।

शुक्रबार बसेको संसदको बैठकमा विनियोजन विधेयकको छलफलमा सहभागी हुँदै बस्नेत भने, ‘मै सञ्चारमन्त्री हुँदा हेटौँडा २५० रोपनी जग्गा व्यवस्था गरेका थियौँ अर्थ र उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्रालयसँग सहमति लिएर पछि यो फाइल त्यत्तिकै हरायो । काभ्रेतिर पुगेको छ ।’

उनले भने, ‘त्यो पनि प्रभावकारी ढङ्गबाट अगाडि बढ्न सकेको छैन । यसलाई अलिक प्रभावकारी ढङ्गबाट अगाडि बढाउनको लागि मन्त्रीसँग अनुरोध गर्न चाहन्छु ।’

उनले भने, ‘यसबाट राहदानी, हुलाक टिकट, अन्तशुल्क, स्टिकर लगायत सुरक्षासम्बन्धी कागजात देशभित्र मुद्रण गर्न सकिने व्यवस्था हुन्छ । यसलाई अलिक विकसित गर्न सकियो भने मुद्रा छाप्ने काम पनि यही हुन सक्छ ।’

‘मैले पनि बाहिरतिर गएर यो मुद्रा छाप्ने विषय पनि केही हेरेँ । अष्ट्रेलिया पनि पुग्यौँ । त्यो बेला यो हेर्न मात्रै भनेर गएको चाहिँ होइन । तत्कालीन सभामुख तारानाथ रानाभाटज्यूसँग सांसदको हैसियतले प्रतिनिधिमण्डमा गएको थिएँ’, बस्नेतले भने ।

‘नेपालीहरूको दश रुपियाँको नोट त्यहाँ छाप्ने रहेछ । च्यात्न सक्दैनौँ तिमीहरू च्यात च्यात भनेर त्यहाँको प्रिन्टिङ प्रेसको डाइरेक्टर’साबले भन्नुभयो । सभामुखज्यूले लौन तपाईले अलिक बल गर्नुस् भन्नुभयो । मैले एकछिन मेहनत गरेँ । त्यो च्यातियो । उहाँले खल्तीको भित्र राखेर टाँक लगाएर कहिँ नभनीदिनु भनेर उहाँले भन्नुभयो । हाम्रो बिज्नेश बिग्रिन्छ भन्नुभयो । त्यहाँको गुणस्तरीयता पनि देखियो’, उनले भने ।

‘त्यो दशको नोट हेर्न सक्ने नै हुँदैन । त्यो खुइलिसकेको छ । हामीले नै गर्न सक्छौँ त्यो पनि । यसका लागि एक नम्बरको नोट छाप्ने कुरामा दुई वर्षमा सम्भव छ । दुई नम्बरको नोट छाप्ने कुरामा चार वर्ष लगायौँ भने छाप्न सक्छौँ । नेपालमा यो काम गर्न दिनको लागि धेरै गाह्रो छ’, उनले भने ।

‘नोट छाप्न विदेश पठाएर वा यो प्रिन्ट गर्न बाहिर पठाएर अर्बौंको घोटाला गर्ने बानीमा जो जो संलग्न हुनुहुन्छ व्यक्ति वा निकाय त्यहाँबाट यो स्वीकृति लिन गाह्रो छ । त्यस कारणले यो प्रक्रिया लम्बिएको होला’, उनले भने ।

Published : Friday, 2024 June 14, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया