हेटौँडा अस्पतालबारे कांग्रेस सभापति बानियाँले प्रश्न उठाएपछि मुख्यमन्त्रीले जवाफ दिए

हेटौँडा । नेपली कांग्रेस बागमती प्रदेशसभाका सदस्य एवं सभापति ईन्द्रबहादुर बानियाँले हेटौँडा अस्पताललाई नचलाउन आग्रह गरेका छन् ।

शुक्रबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर बानियाँले हेटौँडा अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माग गरे । उनले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान नहुने माग गरे ।

बानियाँले हेटौँडा अस्पताल र प्रतिष्ठान बिचको विवाद समाधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका हुन् ।

हेटौँडा अस्पताल प्रादेशिक अस्पतालको रूपमा संघीय सरकारबाट हस्तान्तरण भएकाले त्यसको अस्तित्व मास्न नहुने उनले बताए ।

बानियाँले भने, ‘सरकारको निर्णयका कारण विशेष समय माग गरिएको हो । सरकारले प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय किन ग¥यो ? विवादित भइरहेकै अवस्थामा राजनीतिक दलहरूसँग छलफल नै नगरी किन हतारमा सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय गरिरहेको छ ?’

उनले भने, ‘संघीय सरकारअन्तर्गतको हेटौँडा अस्पताल प्रादेशिक अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन गलत छ ।’

‘हेटौँडा अस्पतालको चल अचल सम्पत्ति मदन भण्डारीको हुन्छ भन्ने निर्णय कहाँ गरिएको छ ?’, उनले भने, ‘प्रतिष्ठानको ऐन परिमार्जन गर्नुपर्छ ।’

संघीय सरकारबाट व्यवस्थापकीय जिम्मा प्रदेश सरकारलाई दिइएकाले प्रतिष्ठानको नाममा अस्पतालको सम्पत्तिमाथि हस्तक्षेप गर्न अधिकार नरहेको सभापति बानियाँले बताएका छन् ।

उनले मेडिकल अध्यापन गराउने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठान विवादमा गरिमा घट्दै गएको बताएका छन् ।

प्रतिष्ठानको कार्य योजनामा ध्यान नदिई सरकारले विवाद थप गर्न स्थायी कर्मचारीलाई हटाएर करारका कर्मचारीलाई अधिकार दिने काम गरिरहेको उनले बताएका छन् ।

उनले भने, ‘प्रतिष्ठान र अस्पतालको समस्या समाधानमा सरकारले ध्यान दिन छोडेर प्रादेशिक अस्पताल निर्माणमा सरकारले निर्णय गरेको छ ।’

‘हेटौँडा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गरेर अघि बढ्नुपर्छ’, सभापति बानियाँले भने ।

बजेटको समयमा सरकार विवादमा नजान सभापति बानियाँले चेतावनी दिएका छन् । उनले राजनीतिक सहमति गरेर संसदीय समितिमार्फत हेटौँडा अस्पताल र मदन भण्डारी अस्पतालका बारेमा स्पष्ट पार्नुपर्ने बताए । उनले अहिले जे अवस्थामा हेटौँडा अस्पताल चलेको छ त्यहि आधारमा अस्पताल चल्नुपर्ने जवाफ प्रदेश सरकारबाट चाहिएको बताए ।

सभापति बानियाँको मागपछि बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकेलले हेटौँडा अस्पतालको विषयमा जवाफ दिएका छन् ।

जमरकट्टेलले भने, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालबारे प्रश्न उठेको छ । हेटौँडा अस्पतालको बारेमा हामीले कुनै पनि कुरा गरेका छैनौँ । आज हामीले गरेको निर्णय योसँग सम्बन्धित छैन । यो निर्णय अलग हो । प्रादेशिक अस्पताल कुन ठाउँमा ठीक हुन्छ भनेर अध्ययन गर्ने समिति बनाउनलाई स्वास्थ्य मन्त्रालयले प्रस्ताव ल्यायो । त्यो सहमति बनाउने सैद्धान्तिक सहमति मात्रै क्याबिनेटले स्वीकृत गरेको हो ।’

Published : Friday, 2024 June 14, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया