पत्रकार महासंघको सदस्यता बिवाद नटुंगाई जबरजस्ती गरे आन्दोलन गर्छौं : अध्यक्ष लम्साल

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको सदस्यता बिवाद नटुंगाई जबरजस्ती गरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।

बिहीबार युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गरेर पत्रकार महासंघको सदस्यता वितरणमा देखिएको अन्योल र विवादप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सदस्यता विवादकै कारण पत्रकार महासंघको २७ औं महाधिवेशनले २०८१ जेठ २६ गते गर्ने तय गरेको शाखा, प्रदेश र केन्द्रीय समितिको निर्वाचन प्रभावित भएको छ’, लम्सालले भने ।

‘महासंघले २०८१ असार दोस्रो साताभित्र निर्वाचन गर्ने प्रतिवद्धता जनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित मितिमा निर्वाचन हुन नसकेकोमा युनियन दुःख व्यक्त गर्दै पछिल्लो पटक निर्धारण गरिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।’

अध्यक्ष लम्सालले भने, ‘महासंघका शाखा र प्रदेशले पठाएका सदस्यको नाम केन्द्रीय नेतृत्वले हटाएर अमुक संगठनमा आस्था राख्नेलाई सहयोग पुग्ने गरी विधि र प्रक्रिया विपरीत आफूखुशी केन्द्रबाट सदस्यको नाम थपेर गैरपत्रकारलाई सदस्यता दिई सूची तयार गरेका कारण यो अवस्था सिर्जना भएको हो ।’

‘महासंघ नेतृत्वले सदस्यता विवाद टुंगाउन नसक्दा निर्वाचन प्रभावित भएको छ’, उनले भने ।

‘महासंघको सदस्यतामा देखिएको विवाद सुल्झाउन नेपाल प्रेस युनियनले पहलकदमी लिँदै पत्रकारका पेशागत सहकर्मी संगठनसँग निरन्तर छलफल र समन्वय गर्दै आएको छ’, लम्सालले भने, ‘महासंघकै शाखा र प्रदेश समितिले पठाएको नामावलीलाई आधार मानेर छुटेका सक्रिय पत्रकारलाई महासंघको विधि र प्रक्रिया अनुसार समावेश गरी सदस्यता टुंग्याएर अन्तिम मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाउन नेपाल प्रेस युनियन अधिकतम लचिलो हुँदै आएको छ ।’

अध्यक्ष लम्सालले भने, ‘महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई साथ दिँदै सक्रिय पत्रकार नछुट्ने गरी सदस्यता सूची तयार गर्न पटक–पटक आग्रह गर्दा पनि सुनुवाई हुन सकेको छैन ।’

‘नेपाल प्रेस युनियन महासंघको विधान अनुसार सदस्यता विवाद सुल्झाएर थप गरिएको मितिमा निर्वाचन सुनिश्चित गर्ने वातावरण तयार गर्न नेपाल पत्रकार महासंघको नेतृत्व लगायत पत्रकार सम्बद्ध सबै पेशागत संस्थाहरूलाई अपील गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘यद्यपि विवाद समाधान नगरी यथास्थितिमा पत्रकार महासंघले सदस्यताको नामावली सार्वजनिक गरेर जबरजस्ती ढंगले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाए नेपाल प्रेस युनियन त्यसलाई अस्वीकार गरी आन्दोलनमा उत्रिन बाध्य हुनेछ’, अध्यक्ष लम्सालले भने ।

Published : Thursday, 2024 June 13, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया