वीर अस्पतालले २० प्रतिशत औषधि बाँड्दैन, कान्तिले ८० प्रतिशत औषधि दिन्छ : पूर्वमन्त्री बस्नेत

काठमाडौं । पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले गरिब जनताले भरोसा र विश्वास गरेको वीर अस्पतालले फार्मेसीबाट २० प्रतिशत पनि औषधि दिन नसकेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै बस्नेतले बरु कान्ति बाल अस्पतालले ८० प्रतिशत औषधि फार्मेसीबाट दिइरहेको बताए । उनले वीर अस्पतालमा आफू स्वास्थ्यमन्त्री भएका बेला फार्मेसीमा सुधार गर्न भवन बनाउन लगाएको बताए ।

सांसद बस्नतले भने, ‘गरिबहरूको आशा र भरोसा रहेको वीर अस्पतालमा वीर अस्पतालको आफ्नो फार्मेसीबाट २० प्रतिशत पनि औषधि पनि बाँड्दैन । बरु कान्ति बाल अस्पतालले ८० प्रतिशतसम्म औषधि बाँडेको छ ।’

‘वीर अस्पतालले २० प्रतिशत पनि बाँडेको छैन’, उनले भने, ‘वीर अस्पतालाई नै फार्मेसीको नमूना मोडलको रुपमा तयार गर्नुपर्छ भनेर म (स्वास्थ्य मन्त्री) हुँदै वीर हस्पिटलको कम्पाउण्डभित्र बिल्डिङ फार्मेसीको भवन बनाउन लागेको म हिँड्ने वित्तिकै यो मोहन बस्नेतको फार्मेसी भनेर काम बन्द गरे छन् ।’

बस्नेतले भने, ‘फेरि पछि मैले पुराना साथीहरू कराएपछि त्यो भवन बनिरहेको छ । त्यो ठाउँमा त्यस्तो राम्रो कमसेकम ९०/९५ प्रतिशत औषधि चाहे त्यो जुनसुकै खालको होस्, यो स्वास्थ्य बीमाले अंकित गरेको होस् वा नगरेको होस् सबै । त्यहाँबाट दिन सकियो र देशभरि टाइट गर्न सकियो भने फार्मेसी सुधार हुँदा यो क्षेत्रमा सुधार हुन्छ ।’

पूर्वमन्त्री बस्नेतले देशभरि करीव ९२ हजार जनशक्ति स्वास्थ्यको क्षेत्रमा कम रहेको बताए । उनले आफूले वीर अस्पतालमा तलब खान नपाएका चिकित्सक र स्वास्थ्यकर्मीलाई हटाएर सुधारको प्रयास गरेको बताएका छन् ।

उनले भने, ‘हुन त म स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका बेला वीर अस्पतालमा धेरै कर्मचारी निकाल्यो भनेर धेरैले मलाई गाली पनि गर्नुभयो । धेरै माननीयज्यूहरूले । दश महिनादेखि तलब पाइरहेका छैनन् ।’

‘उनीहरूको तलब पनि खुवाउनु पर्ने, कोभिडको प्रयोजनको लागि नियुक्ति दिएका डाक्टर र नर्सहरू अब हामी तलब दिन सक्दैनौँ भनेर अर्थ मन्त्रालयले भनेपछि त्यो बेलामा निकालिएको अवस्था थियो । अस्पतालका डिपार्टमेन्ट हेडहरूले यति चाहिँ अलिअलि नभइ हुँदैन भन्ने अवस्था उहाँहरू आएर कुरा भनेपछि न्याम्सले आफ्नै स्रोतबाट केही डाक्टर र नर्स त हामीले पहिला पनि पठाएका थियौं, केही डाक्टर र केही अरु प्राविधिक विषयका मान्छेहरू नियुक्ति गरेको अवस्था हो’, बस्नेतले भने ।

‘सबै अस्पतालहरूको कुरा गर्दा अहिले ९२ हजार स्वास्थ्यकर्मीहरू थप्नुपर्ने तथ्याङ्कले बताउँछ । मेरो पालामा अर्थ मन्त्रालयसँग कुरा गरेर ३२ हजारसम्म कर्मचारीहरू स्वास्थ्य कर्मचारी नियुक्ति गर्ने विषयमा बजेट दिने भनेर कुरा उठाइएको थियो । सहमति भएको थियो’, उनले भने ।

‘सुर्तीजन्य पदार्थमा ट्याक्स बढाऔँ । त्यसबाट उठेको पैसा ठूलो रकम हुन्छ । स्वास्थ्य मन्त्रालयलाई अत्यन्तै थोरै पैसा दिएको अवस्था हो । स्वास्थ्यको नाममा उठेको पैसा अर्थ मन्त्रालयमा अरु शीर्षकमा किन खर्च गर्नुपर्‍यो ? त्यो पैसा दिनुस् हामीलाई हामी त्यहाँबाट स्वास्थ्यकर्मी पनि लिन्छौँ र गरिब र विपन्नहरूलाई बास्केट फण्डमा पैसा राखेर उपचार पनि गर्छौं निःशुल्क भनेर लबिङ गरियो । त्यो बेला बढेन । अहिले सुर्तीजन्य पदार्थमा कर बढाउने भनिएको छ । तर, कति बढाउने भन्ने थाहा छैन’, कांग्रेसका सांसद बस्नेतले भने ।

Published : Thursday, 2024 June 13, 5:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया