लुम्बिनी विकास कोषका ईञ्जिनियर भट्टराईलाई भ्रष्टाचारमा ६ वर्ष कैद ठहर

काठमाडौं । लुम्बिनी विकास कोषका तत्कालीन ईञ्जिनियर सरोज भट्टराईलाई ६ वर्ष जेल सजाय ठहर भएको छ ।

ईञ्जिनियर भट्टराईले गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा जेठ २४ गते दोषी ठहर गरेको थियो ।

बिहीबार विशेष अदालतले भट्टराईको सजाय र जरिवाना निर्धारण गरेको छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार भट्टराई ठेकेदारसँग लिएको ८० लाख रुपियाँ घुस प्रकरणमा ६ वर्ष जेल सजाय तोकेको छ ।

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर विशेषले उनीबाट बिगो बमोजिम ८० लाख रुपियाँ असुलउपर गर्नुपर्ने फैसला पनि सुनाएको छ ।

ठेकेदारबाट कमिशन लिएर आएको गैरकानूनी आम्दानीले भट्टराईले सम्पत्ति जोडेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २५ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।

लुम्बिनी विकास कोषमा ठेक्का लगाउने क्रममा निर्माण कम्पनीका सञ्चालकबाट घुसस्वरुप लिएको पैसा भट्टराईले आमा जनकनन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा किनेको ठहर अख्तियारले गरेको थियो ।

भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा भट्टराईले आमाको नाममा खरिद गरेका थिए ।

निर्माणसम्बन्धी ठेक्का पाएका सफिक अहमदबाट इन्जिनियर भट्टराईले अर्को व्यक्तिमार्फत ८० लाख रुपियाँ घुस लिएका थिए । सोही रकमले उनले अचल सम्पत्ति जोडेको निष्कर्षसहित विशेषले दोषी ठहर गरेको छ ।

विशेष अदालतको फैसाविरुद्ध ईञ्जिनियर भट्टराई सर्वोच्च अदालतमा न्यायका लागि जान पाउनेछन् । उनले धरौटीमा मुद्दा लड्न पनि पाउनेछन् ।

Published : Thursday, 2024 June 13, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया