सहकारी काण्डमा गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले थप कागज पत्र झिकायो

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा थप कागज पत्र झिकाएको छ ।

सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्धका कागजपत्र मगाउन आदेश गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी प्रकरणमा दर्ता गरिएको उजुरी दर्ता किताब, कास्की प्रहरीमा दर्ता भएको अभियोगपत्र, सरकारी वकिल कार्यालय रुपन्देहीले दर्ता गरेको अभियोगपत्र पनि झिकाउन आदेश दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले गरेको अनुसन्धान प्रतिवेदन झिकाउन सर्वोच्चले आदेश दिएको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री लामिछानेले संसदमा बोलेका कुराको प्रमाणित प्रतिलिपि पनि मगाएको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले दिएको पत्र खारेज गर्नसमेत माग गरिएको थियो ।

Published : Monday, 2024 June 10, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया