गृहमन्त्री लामिछानेलाई जस्तै सहकारी ठगको अभियोग लाग्यो यी ३ जनालाई

काठमाडौं । प्रहरीले स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कुलेश्वर बस्ने वर्ष ६६ का बाशुदेवमान जोशी रहेको आइतबार सीआईबीका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जोशी सहकारीका अध्यक्ष हुन् । उनलाई प्रहरीले जेठ २५ गते पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौंको केलटोल बस्ने वर्ष ६७ का सुवर्ण सेलालिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । जेठ २५ गते पक्राउ परेका सेलालिक सहकारीका सचिव हुन् ।

काठमाडौंको नरदेवीका वर्ष ५८ का धर्मरत्न पाछैंलाई पनि प्रहरीले पक्राउ गरेको छ । जेठ २५ गते नै पक्राउ परेका पाछैं सहकारीका सदस्य हुन् ।

काठमाडौंको मखनमा केन्द्रीय कार्यालय रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालकहरूले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई ठगी गरेको आरोप छ ।

सञ्चालकहरूले निक्षेपकर्ताको रकम सहकारीमा मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक, वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता दिएका थिएनन् ।

पटक पटक ताकेता गर्दा पनि रकम फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरिएको थियो ।

बचतकर्ताहरूको सात करोड चालीस लाख सतासी हजार आठ सय साठी रुपियाँ उनानसाठी पैसा बचत रकम अपचलन तथा हिनामिना गर्ने संचालक समितिका अध्यक्ष जोशीसहित ३ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जोशीसहित ३ जनालाई काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय, सहकारी विभागको पत्रको आधारमा जिल्ला काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौबाट दिन ७ (सात) को म्याद थप भई आवश्यक अनुसन्धान कार्य भैरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि सूर्यदर्शन ऋण तथा बचत सहकारी संस्था लिमिटेड लगायतका सहकारीको करोडौं रकम हिनामना र ठगी काण्डमा मुछिएका छन् ।

गृहमन्त्री लामिछाने नै सहकारीको रकम ठगी र अपचलन काण्डमा मुछिएका बेला काठमाडौंबाट प्रहरीले स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष, सचिव र सदस्यलाई पक्राउ गरेको छ ।

Published : Sunday, 2024 June 9, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया