लामिछानेको सहकारी काण्ड सेलाउन नपाउँदै प्रचण्डको झण्डै करोडको घडीको चर्चा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नाडीमा लगाए (बाँधे)को घडीले सामाजिक सञ्जाललाई निकै तताएको छ ।

सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेका कारण तात्तिएको मिडिया र सामाजिक सञ्जाल क्रमशः सेलाउँदै गएका बेला दाहालको घडीले एकाएक चर्चा पाएको छ ।

चार दिन अगाडि बुधबार राति पोखरामा रिसोर्टको कोठामा दाहाल र उनकी छोरी गंगा दाहाल सुविधा सम्पन्न कोठामा बसेर टेलिभिजन हेर्न लागेको तस्बिर सार्वजनिक भएपछि घडीको विषय बाहिरिएको छ ।

दाहालले देब्रे हातको नाडीमा घडी लगाएको देखिएको छ । तस्बिरमा घडीको ब्राण्ड रोलेक्स रहेको देख्न सकिन्छ ।

प्रधानमन्त्री दाहालले लगाएको हरेक कुरामा जनताको आँखा जानु स्वभाविक छ । दाहालले लगाएको रोलेक्स घडीको बजार मूल्य गुगलमा हेर्दा शनिबारको दिन करीव ७८ लाख पर्ने देखिन्छ ।

रोलेक्स घडीको मूल्य विश्व बजारमा महँगो नै पर्छ । रोलेक्स घडीलाई विलासी सामग्रीमा लिने गरिन्छ ।

पहिलो पटक प्रधानमन्त्री बनेका बेला प्रधानमन्त्री दाहालले तत्कालीन समयमा १ लाखको पलङ किनेर विलासी जीवनअनुसार सुतेको भनेर आलोचना पनि भएको थियो । हुन् त प्रधानमन्त्री दाहालकी छोरी गंगाले पनि निकै महँगा विलासी सामग्रीहरू बोक्ने गर्छिन् । गगांकी छोरी स्मिता दाहालले पनि विलासी सामग्री बोक्ने र लगाउने गरेको भनेर यसअघि आलोचना भइसकेका छन् ।

नेपाली कांग्रेस वा प्रजातान्त्रिक विचार बोक्ने दलका प्रधानमन्त्री वा नेताले रोलेक्स घडी लगाएको या विलासी सामग्री लिएका थिए भने प्रश्न र चियोचर्चा हुने थिएन ।

प्रधानमन्त्री दाहाल कम्युनिस्ट नेता हुन् । झण्डै १२ वर्ष कथित जनयुद्ध लडेर आएको दाबी गर्छन् । जनताका लागि सशस्त्र संघर्ष अर्थात् कथित जनयुद्ध गरेको कम्युनिस्ट नेताको घडीको मूल्य ७८ लाखको भएपछि चासो भएको सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन् ।

प्रधानमन्त्री दाहालले घडीका विषयमा आएका आलोचना र टिकाटिप्पणीका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । दाहालले केही दिन अगाडि सार्वजनिक गरेको सम्पत्ति विवरणमा रोलेक्स घडीको विषयमा केही कुरा उल्लेख गरेका छैनन् । दाहालले लगाएको रोलेक्स ब्राण्डको घडी हो भने सम्पत्ति विवरणमा देखाउनुपर्छ । रोलेक्स घण्डी सामान्य सामग्री होइन । यदि सामाजिक सञ्जालमा दाबी गरिएअनुसार दाहालको रोलेक्स घडी हो र त्यसको मूल्य ७८ लाख पर्छ भने सम्पत्ति लुकाएको अभियोगमा कानूनअनुसार कारबाहीको पनि सामाजिक सञ्जालमा माग उठेका छन् ।

सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री दाहालसँग चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ मा पार्किङसहितको एउटा घर र १४ कठ्ठा जमीन तथा वडा नं. १२ मा १ कठ्ठा जमीन उल्लेख छ ।

दाहालको नाममा एभरेष्ट बैंकमा २५ लाख नगद रहेको छ । दाहालसँग ५ तोला सुन पनि रहेको उल्लेख छ । पैतृक सम्पत्तिका रुपमा ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । भरतपुरमा रहेका ती जमीन प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको नाममा रहेको देखाइएको छ । जमीन पैतृक सम्पत्ति भनेर दाबी गरिएको छ ।

Published : Saturday, 2024 June 8, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया