बजेटले दैनिक उपभोग्य वस्तुमा ९ प्रतिशतभन्दा बढी मूल्य वृद्धि : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारको बजेटले उपभोक्ताको हितलाई बेवास्ता गरेको जनाएको छ ।

शुक्रबार कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागका प्रमुख गुरु बरालले विज्ञप्ति जारी गरेर बजेटको विरोध गरेका हुन् । उनले बजेटको सार विरोधाभासपूर्ण रहेको जनाएका छन् ।

‘चालु आ.व. २०८१÷०८२ मा गत आ.व. नेपाल सरकारले दैनिक उपभोग्य वस्तुमा प्रक्षेपित गरेको मूल्य वृद्धिभन्दा झण्डै डेढ गुणा अर्थात् ९ प्रतिशतभन्दा बढी भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘दैनिक उपभोग्य वस्तुको रूपमा रहेको चामल, चिनी, दाल, तेल, माछा–मासु, सागसब्जी तथा फलफूलमा अत्यधिक मूल्य वृद्धि भएको कारण आम उपभोक्ताको भात भान्छा अत्यन्त महँगो भएको सर्वत्र महसुस गरेको सबैमा विदित नै छ’, बरालले भने ।

वर्तमान सरकारको गठनदेखि नै आम उपभोक्ताको हित र आवश्यकतालाई पूर्णता बेवास्ता गर्दै आएकोमा प्रस्तुत बजेटको भन्सार नीतिमा व्यापक परिवर्तन गर्दै देखावटी रूपमा आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर हटाएको देखाई दाल, चामल, माछामासु, तेल आदिमा करिब १० प्रतिशत भन्सार महसुल लिने र भन्सार विन्दुमा नै अग्रिम आयकर कट्टी गर्ने जस्ता नीति लागू गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख बरालले भने, ‘आम उपभोक्ताले दैनिक उपभोग गर्ने वस्तुमा नै विगतमा करीव शून्य भन्सार दर लागू भई रहेको वस्तुहरूमा यसरी भन्सार महसुल लगाउने र अग्रिम आयकर दस्तुर लगाउने कामले बजारमा उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्ने कुरा निश्चित नै छ ।’

लोक कल्याणकारी समाजवाद उन्मुख संविधानको मर्म र आम नागरिकको खाद्यमाथिको सहज पहुँचको हक अधिकारमाथि नै कुण्ठित हुने गरी दैनिक उपभोग्य वस्तुहरूमा लगाइएको भन्सार महसुल दर र अग्रिम आयकर लिने व्यवस्था तत्काल खारेज गर्न कांग्रेसले माग गरेको छ ।

बजारलाई अझ बढी व्यवस्थित तथा प्रतिस्पर्धी बनाउनको लागि निजी क्षेत्रलाई आकर्षित बनाउने र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्था सहज गर्नको लागि स्वदेशमा नै उत्पादन गर्न प्रोत्साहित गर्नुपर्ने कांग्रेसले उल्लेख गरेको छ ।

किसान र व्यावसायिक वर्गलाई आकर्षित गर्ने स्पष्ट कार्यक्रमहरू ल्याउन र बजार अनुगमनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि बेग्लै संयन्त्र निर्माण गर्ने भन्ने सरकारको नीति तथा कार्यक्रममा देखिएता पनि बजेटमा यसको स्पष्ट व्यवस्था भएको नभएको विज्ञप्तिमा कांग्रेसले उल्लेख गरेको छ ।

Published : Saturday, 2024 June 8, 12:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया