भीरमा रामचन्द्र र सरिताको शव

काठमाडौं । पहाडको भित्तामा झुण्डिएको अवस्थामा ४२ वर्षीय रामचन्द्र खनाल र ३२ वर्षीय सरिता राईको शव फेला परेको छ ।

धादिङको सिद्धलेख गाउँपालिका वडा नं. ५, घर भइ भक्तपुरमा बस्दै आएका रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.५ भक्तपुर ठेगाना भएकी सरिता राईको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी बसन्त रजौरेले बताएका छन् ।

रामचन्द्र खनालले कालो जिन्स पाईन्ट र खैरो टि–सर्ट लगाएका छन् । सरिता राईले कालो जिन्स पाईन्ट र आकासे रंगको टि–सर्ट तथा रातो लेडिज व्याग बोकेकी छिन् ।

जेठ २३ गते अपरान्ह अन्दाजी ४ बजेर ३५ मिनटको समयमा काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं.८ केराबारीस्थित भीरमा रामचन्द्र खनाल र सरिता राईको शव भेटिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीयले शव भीरमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । सूचना पाउनेवित्तिकै ईलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।

घटनास्थल सुरक्षित गरी थप मद्दतको लागि प्रहरी बृत कीर्तिपुरबाट विशेष अनुसन्धान टोली र प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसीबाट २५ जना प्रहरी जनशक्तिको खटिएको थियो ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नं. ३ स्थित काठमाडौं–हेटौँडा सडकखण्डमा रहेको रामचन्द्र भञ्ज्याङ सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर भीर पहरामा अल्झिएर मृत अवस्थामा रहेका थिए ।

महिला र पुरुषको शव तथा घटनास्थलमा टुक्रिएको अवस्थामा रहेको प्रदेश ३–०२–००७ प ३८१२ नम्बरको १५० सीसी पल्सर मोटरसाइकको पार्टपुर्जा समेत जेठ २४ गते बिहान १० बजेर ५० मिनटमा निकालिएको छ ।

रामचन्द्र खनाल र सरिता राईको शव भेटिएको घटनाका सम्बन्धमा प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

Published : Friday, 2024 June 7, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया