कांग्रेस नेताहरू मिल्ने हो भने कम्युनिस्टले चुनाव लड्ने उम्मेदवार पाउँदैनन् : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसभित्र मिलेर जाने र गठबन्धन नहुने हो भने सिन्धुपाल्चोक जिल्लामा कम्युनिस्टहरूले उम्मेदवार बनाउने मान्छे नपाउने बताएका छन् ।

बिहीबार काठमाडौंको धुम्बाराहीमा नेपाली कांग्रेस सुनकोशी गाउँपालिका वडा न. ६ इकाई कार्यसमिति, सिन्धुपाल्चोकद्वारा आयोजित भित्तेपात्रो विमोचन तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘अर्को पटकको चुनावमा सबै एक भएर जाँदाखेरी कम्युनिस्टहरूले चुनाव लड्नाका लागि उम्मेदवार पनि खोजेर हिँड्दा पाउँदैनन् ।’

उनले भने, ‘चुनाव यसै हार्छ, उसै हार्छ भने को चुनाव लड्न तयार छ ? त्यो भएर मान्दैनन् ।’ ‘सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले गठबन्धन नगरेर चुनाव लडौँ त ? उम्मेदावर पाउन गाह्रो छ । माओवादीबाट उम्मेदवार नै पाउँदैन । एमाले भन्नेले उम्मेदवार पाउनै गाह्रो छ । सन्केर हुन्छ ।’

नेता बस्नेतले भने, ‘म लड्ने भएपछि उनीहरू चुनाव नलड्ने भनेर बसेका थिए । पछि गठबन्धन भएर चुनाव लडेका हुन् ।’

उनले कांग्रेस धेरै बलियो भइसकेको बताएका छन् । सुनकोशी गाउँपालिकामा हिजोका दिनमा कांग्रेस कमजोर भएको ठाउँमा थोरै सिट जितेको ठाउँमा सात नं. वडा बाहेक अरुमा कम्युनिस्टलाई कुनै चान्स नदिएको बस्नेतले बताएका छन् ।

नेता बस्नेतले आगामी निर्वाचनको तयारी अहिलेबाटै गर्नुपर्ने बताएका छन् । अहिलेदेखि मेहनत गरेर सुनकोशी गाउँपालिकामा लौरो उठाए पनि कांग्रेसले जित्ने बनाउनु पर्ने बस्नेतले बताएका छन् ।

Published : Thursday, 2024 June 6, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया