राष्ट्रिय बाणिज्य बैंकले दियो प्रहरीलाई २ एम्बुलेन्स र २ शव वाहन
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ ।
बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनालले एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् ।
आइजीपी कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने बताएका छन् ।
घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पु¥याउन सवारी साधन निकै उपयोगी हुने उनले बताए ।
आइजीपी कुँवरले प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने बताएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने बताए ।
नेपाल प्रहरीमा स्रोत र साधनको कमि ठूलो चुनौतीको रूपमा रहेको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमको समन्वय र सहकार्य रहने उनले बताएका छन् ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको प्रशंसा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने बताएका छन् ।
कार्यक्रमले बैंक र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने विश्वास उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया