११ वर्ष अगाडि ट्रयाक खुलेको बेशिसहर–चामे सडक कालोपत्र गर्न कांग्रेस सांसद गुरुङको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले बेशिसहर–चामे सडक खण्डलाई कालोपत्र गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गुरुङले पर्यटन र जलस्रोतको धनी जिल्ला मनाङ जाने सडक ११ वर्षदेखि कालोपत्र हुन नसक्दा यात्रु र पर्यटकले समस्या भोग्नु परेको बताए ।

उनले भने, ‘लम्जुङ जिल्लाको सदरमुकाम बेशिसहरदेखि मनाङ जिल्लाको सदरमुकाम चामेसम्म जोड्ने ६२ किलो मिटर मुख्य सडकको नेपाली सेनाद्वारा ट्रयाक खोलेको ११ वर्ष भइसक्दा पनि कालोपत्र पूरै छोडौं ग्राभेलसमेत भएको छैन ।’

‘स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि त्यहाँको यात्रा एकदमै जोखिमपूर्ण र कष्टकर रहेको छ’, कांग्रेसका सांसद गुरुङले भने ।

‘देशको धेरै पर्यटक भित्रिने जिल्लाहरूमध्ये एक जिल्ला मनाङ पनि हो’, गुरुङले भने, ‘मनाङ जिल्लामा टुरिजम् र जलस्रोत सम्पन्न रहेको छ ।’

उनले भने, ‘देशलाई समृद्ध बनाउने सम्पदा र स्रोतहरू रहेको पर्यटकीय हिमाली जिल्ला मनाङ जुन देशको राजधानीबाट सबैभन्दा छोटो दुरीमा हिमालीसम्म पुग्ने बेशिसहर–चामे सडक खण्डलाई यथाशीघ्र कालोपत्र गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

Published : Thursday, 2024 June 6, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया