लुम्बिनीको गुरुयोजनालाई बजेट अभाव, १३ अर्ब आवश्यक, ७ अर्बमात्र प्राप्त : उपाध्यक्ष डा.लामा

काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको गुरुयोजना बजेट अभावमा पूरा हुन नसकेको बताएका छन् ।

बुधबार राष्ट्रियसभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा डा.लामाले गुरुयोजनाअनुसारका काम गर्न १३ अर्ब बजेट आवश्यक पर्नेमा हालसम्म ७ अर्बमात्र प्राप्त भएको बताए ।

चालु आर्थिक वर्षमा सरकारले ३० करोड ७० लाख बजेटमात्र विनियोजन गर्दा सम्पन्न भएका कामको समेत भुक्तानी हुन नसकेको उपाध्यक्ष डा.लामाले बताएका छन् ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले काम भइसकेको ५० करोड भुक्तानी दिन बाँकी रहेको बताएका छन् । उनले निर्माण व्यवसायीलाई भुक्तानी दिन नसक्दा कोषका पदाधिकारी घेरिने अवस्था रहेको बताए ।

लुम्बिनीलाई २०७१ मा राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखिएको थियो । गौरवको आयोजनाका रुपमा राखे पनि बजेट आवश्यक मात्रामा प्राप्त हुन सकेको छैन ।

बैठकमा सहभागी सांसदहरू उदयबहादुर बोहरा, इन्दिरादेवी गौतम, विष्णुकुमारी सापकोटा, राजेन्द्रलक्ष्मी गैरे, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया र सभापति सोनाम गेल्जेन शेर्पाले विश्वभर फैलिएका करिब १ अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा गुरुयोजनाले निर्दिष्ट गरेका काम सक्न आवश्यक बजेट र जनशक्तिको व्यवस्था हुनुपर्ने बताएका छन् ।

उनीहरूले लुम्बिनी क्षेत्रका प्राचीनता नबिग्रने गरी विकास गरिनुपर्नेमा ध्यानाकर्षण गराएका छन् । विश्वभर रहेका बौद्धमार्गी र गैर बौद्धमार्गी पनि शान्तिका अग्रदूत शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने भएकाले त्यसको प्रचारप्रसार र आवश्यक संरचना विकास गरिनुपर्ने सांंसदहरूले बताएका छन् ।

लुम्बिनी क्षेत्रमा क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्ध गरी तीन जना बुद्धको जन्म भएकाले यो क्षेत्रलाई पवित्र तीर्थस्थलका रुपमा विकास गरी विश्वभरबाट धार्मिक पर्यटक भित्र्याइनुपर्ने सांसदहरूले बताएका छन् ।

Published : Thursday, 2024 June 6, 9:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया