ललितपुरमा भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाएको छ ।

बुधबार ललितपुरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेर वातावरण दिवस मनाइएको छ ।

ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको सहभागिता रहेको थियो ।

कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्नेबारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको बताए ।

नेपाल सरकारका वन तथा वातावरणमन्त्री साह र ललितपुर महानगरपालिकाका मेयर महर्जनले कार्यक्रममा बोल्दै भावी पुस्ताकालागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए ।

Published : Wednesday, 2024 June 5, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया