भूकम्प, बाढीपहिरो, आगलागी, हिमपहिरो, हावाहुरी र दुर्घटनामा जोखिमयुक्त : मुख्यमन्त्री पाण्डे

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्घटना, बाढी र पहिरो लगायतको प्रभावित भएको क्षेत्रमा उद्धार र राहतमा गण्डकी प्रदेश सरकारले विशेष ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

बुधबार तनहुँको शुक्लागण्डकी–४ हस्पिटलचोक, बेलचौतारामा गरिएको ‘सवारी दुर्घटना व्यवस्थापन नमूना अभ्यास’ कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले मानवीय कार्यप्रति संवेदनशील हुनुपर्ने भएकोले प्राथमिकता राख्नुपर्ने बताए ।

पाण्डेले भने, ‘विपद् व्यवस्थापनलाई छिटो छरितो र प्रभावकारी बनाउन प्रदेश सरकारले सबै सरोकारवाला निकायसँगको समन्वयमा विपद्को पूर्वतयारी, विपद् रोकथाम, विपद् उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुर्नस्थापनलाई उच्च प्राथमिकतामा साथ कार्यान्वयन गर्दै आएका छौँ ।’

नेपाल भू–कम्प, बाढी पहिरो, आगलागी, हिमपहिरो, हावाहुरी तथा दुर्घटना लगायतका प्रकोपबाट जोखिमयुक्त भएकाले प्रकोप न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम तथा तालिमको अत्यन्त महत्वपूर्ण भूमिका रहने उनले बताएका छन् ।

प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको सहकार्यमा यस वर्ष पनि विभिन्नखाले सम्भावित विपद् घटना न्यूनीकरण र पूर्व तयारीका लागि अभ्यास कार्यक्रम गरेको पाण्डेले बताएका छन् ।

तालिम प्राप्त जनशक्ति दुर्घटनाको समयमा विधि सम्मत तवरबाट सुरक्षा फौजसँग सहकार्य गर्दै उद्धारमा समेत परिचालित हुन सहयोग पुग्ने उनले बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले नेपाल जस्तो विपद् जोखिम भएको देशमा यस प्रकारको कार्यक्रमले स्थानीय स्वंमसेवकको उत्पादन गरेर विपद् र दुर्घटनापछिको उद्धारमा ठुलो सहयोग पुग्ने बताएका छन् ।

उनले विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले प्रदेश स्तरमा १० करोड नघट्ने र जिल्लास्तरमा १० लाख नघट्ने गरेर विपद् व्यवस्थापन कोष सञ्चालन गरिरहेको बताए ।

Published : Wednesday, 2024 June 5, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया