सांसदहरू नौंरङ्गी फेसन लगाएर आउँछौँ, चप्ल लगाएका जनतालाई सिंहदरबार छिर्न दिन्नौं : कांग्रेस सांसद न्यौपाने

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसद भवन र सिंहदरबार प्रवेशमा सर्वसाधारणलाई निकै कष्ट रहेको भन्दै प्रश्न उठाएकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले सांसदहरूले नौंरङ्गी फेसनका कपडा लगाउँनेलाई केही नहुने तर, हाफ पाइन्ट र चप्ल लगाएका सर्वसाधारणलाई सिंहदरबार प्रवेश नदिने कार्यको विरोध गरिन् । उनले सांसद र सर्वसाधारणलाई एउटै कानून लागू हुनुपर्ने बताए ।

सांसद न्यौपानेले भनिन्, ‘दुरदराजका नागरिकहरू काठमाडौं आउन पनि गाह्रो हुन्छ । बल्लतल्ल काठमाडौं हेर्न आएका जनताहरू संसद भवन हेर्न चाहन्छन् । संसद भवनमा आएर आएर माथि जान लाग्दा उनीहरूलाई रोकिन्छ । यो मसँग प्रत्यक्ष घटित घटना हो । कारण के हो मैले बुझ्न सकिन ।’

‘मैले सोँधे किन उहाँहरूलाई माथि जानबाट रोकियो ? खुट्टामा चप्ल लगाएका छन् त्यस कारण माथि जान पाउँदैन’, सांसद न्यौपानेले भनिन्, ‘एकछिन म आश्चर्यजनक भएँ । त्यसपछि सरकारको नियम होला भने । मैले यो कुरा मनमा दबाएर राखेँ ।’

उनले भनिन्, ‘अस्ति एउटा घटना घट्यो । म सिंहदरबारमा एउटा भाइको बाइक लिएर जाँदै थिएँ । मैले मेरो आइडी पनि देखाएँ । भित्र गएँ । प्रहरी दौडिएर मेरो पछाडि आइरह्यो । म अचम्मित भएँ । म सांसद हुँ । देखाइ रहेको छु आइडी कार्ड किन यसरी दौडेका छौँ भनेर, अनि मैले मोटरसाइकल रोक्न लगाएँ ।’

‘म उत्रिएर मैले सोँधे । किन तपाई यसरी दौडी रहनुभएको छ मैले आइडी देखाएँ, मैले लोगो लगाएको छुभन्दा माननीयज्यू तपाईलाई होइन त्यो भाइलाई रोकेको भने । किन रोक्नुभयो भाइलाई भन्दा त्यो भाइले हाफ पाइन्ट लगाएको छ जान पाउँदैन’, सांसद न्यौपानेले भनिन् ।

‘म प्रश्न गर्न चाहन्छु । पहिलो घटना भएपछि म संसदभित्र आएँ । मैले मेरो पुरुष सांसदहरूको खुट्टामा हेरेँ’, न्यौपानेले भनिन्, ‘उहाँहरू सबै जुत्ता लगाएर आउनुभएको छ कि चप्ल लगाएर आउनुभएको छ भनेर । तर, पुरुष माननीयज्यूहरू चप्ल लगाएर आउनुभएको छ । हामी नियम बनाउने ठाउँमा छौँ ।’

उनले भनिन्, ‘दोस्रो घटना भइसकेपछि मैले सम्झिएँ यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कति जना छौँ ? हामी साडीमा आउँछौँ कि ? हामी कोट पाइन्ट टाइ लगाएर आउँछौँ कि ? हामी आफ्नो मातृ ड्रेस लगाएर आउँछौँ कि ? मैले पढ्ने बेलामा फ्राक भनिन्थ्यो त्यो बेलामा आज यो संसदमा फ्राक लगाएर आउनुभएको छ । कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही जम्फर लगाएर आउनुभएको छ । कोही गरारा भन्छ, कोही सरारा भन्छ । हामीलाई सबै छुट । अनि जनतालाई त्यसमा बन्देज ? नियम बनाउने हामीले, नियम बनाउने हामी माननीयले यहाँ जस्तो लगाएर आए पनि भो । नौंरङ्गी फेसन लगाएर आए पनि हुन्छ, हामीले चाहिँ केही गर्न नपर्ने ? बिचरा जनताहरू हाफ पाइन्ट लगाएर प्रवेश नपाउने सिंहदरबारको ढोकामा चप्ल लगाएर माथि हेर्न नपाउने संसदको भवनमा ? सरकारलाई प्रश्न पनि राख्न चाहन्छु । कारण के हो ? हाफ पाइन्ट लगाएर भित्र जान नपाउने, हामी चाहिँ सबै ड्रेस लगाएर आइरहेका छौँ । रुलिङ गर्न माग गर्दछु ।’

‘कम्तिमा हामी सांसद हौं । नेपालका सांसद हौँ । नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउँछ ? बाहिरतिर पनि हेरौँ सभामुख महोदय । बाहिर पर्सनल रुपमा जे लगाए पनि हुन्छ । तर, संसदको भवन र यो गेटभित्र प्रवेश गर्दा हामी कस्तो ड्रेस लगाएर पस्नुपर्छ भन्ने कुरा रुलिङ होस् । ती सर्वसधारण जनतालाई किन रोकियो ? त्यसमा पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, कांग्रेस सांसद न्यौपानेले भनिन् ।

Published : Sunday, 2024 June 2, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया