कानून विपरित लामिछानेले दिएको आदेशमा लागू भएको ट्राफिकवाला फण्डाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेको आदेशमा ट्राफिक प्रहरीमा कानून विपरित लागू भएको व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने अभियानविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट परेको हो ।

बझाङका २२ वर्षीय कृष्ण विक, स्याङ्जा हरिनासका २२ वर्षीय आकाश भट्ट, ललितपुर गोदावरीका २२ वर्षीय उज्जव माली, पर्साका २१ वर्षीय इमामुल हक लगायत ७ जनाले प्रहरीको उक्त कार्यले आफ्नो सम्मानपूर्व बाँच्न पाउने हक, हिँडडुल गर्न पाउने हक हनन् भएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनीहरूले दिएको रिट दर्ता भएको सर्वोच्चका सह-प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

उनीहरूको रिटमा सवारी तथा यातायात ऐनको दफा १६४ ले ट्राफिक नियम उल्लंघन गरेबापत जरिवानामात्र तिराउन सक्ने भने पनि प्रहरीले भने शारीरिक दण्ड दिएको उल्लेख छ।

‘संसदले जनहितका लागि बनाएको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ लगायतका विभिन्न दफाहरूमा सवारी चालकलाई गल्ती बापत सजाय तथा जरिवानाको व्यवस्था गरेको छ । दफा १६१, १६२ को ज्यान सम्बन्धीको कसूरमा बाहेक नागरिकलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन पाउने व्यवस्था गरेको छैन,’ उनीहरूको रिटमा भनिएको छ, ‘तर पछिल्लो समयमा गृहमन्त्रीस्तरीय निर्णयले मा.प.से.गरी सवारी चलाएमा वा अन्य ट्राफिक कारवाहीमा गरेका सवारी चालकहरूलाई शारीरिक दण्ड दिएको देखिन्छ जुन सजाय वा कारवाही पुरातन शैलीको (Barbaric) जस्तै देखिन्छ ।‘

गृह मन्त्रालय, ट्रफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै सर्वाेच्च अदालतमा रिट परेको छ ।

नेपालको संविधानले नागरिकलाई स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको र अपराधसंहिताका कानूनबमोजिम बाहेक सजाय नहुने व्यवस्था रहेकाले निर्णयका आधारमा नारिकलाई सजाय दिनु उचित नभएको भन्दै रिटमा अन्तरिम आदेशसहित उत्प्रेषण परमादेशको माग गरिएको छ ।

सवारी चालकलाई पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउनु कानून र संविधानविपरीत भएको भन्दै आलोचना भइरहेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारबाट मापसे, लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेका सवारीचालकलाई पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेको छ ।

गृहमन्त्री लामिछानेको आदेशमा ट्राफिक प्रहरीले कानून विपरित मापसे, लेन अनुशासन लगायतमा परेकाहरूलाई जरिवाना लिएर पनि जबरजस्ती स्वयंसेवकका रुपमा सडकमा ज्याकेट लगाइदिएर अपमान हुने गरी खटाउने गरेको छ ।

Published : Friday, 2024 May 31, 4:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया