नेपालले देउवालाई भेटेको १५ घण्टाभित्रै दाहालद्वारा खनालसँग वार्ता, पार्टी फुटाउने धम्की

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग बुधबार छलफल गरेको अर्को दिन प्रधानमन्त्री दाहालले नेता खनालसँग भेट गरेका हुन् ।

बालुवाटारमा बिहीबार बिहान दाहाल र खनालबीच सत्ता गठबन्धनलाई बलियो बनाउने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री दाहालसँगको भेटपछि नेता खनालले भने, ‘विपक्षीहरू यो गठबन्धन भत्काउन कस्सिएर लागेका छन् । त्यही सन्दर्भमा प्रधानमन्त्रीसँग कुराकानी गर्न गएको थिएँ ।’

‘प्रधानमन्त्रीले गठबन्धन दृढतापूर्वक अघि बढ्ने बताउनुभयो। वामपन्थीहरूका बीचको सहकार्यलाई अझ कसिलो बनाएर लैजाने बताउनुभयो’, उनले भने, ‘मैले यो गठबन्धन तलमाथि हुने कुनै सम्भावना देखिनँ ।’

एमाले, माओवादी केन्द्र, रास्वपा र नेकपा (एकीकृत समाजवादी)बीचको समीकरणमा कुनै समस्या नरहेको खनालले बताएका छन् ।

नेता खनालले बुधबार अध्यक्ष नेपाल बूढानीलकण्ठ गएको दृश्यचाहिँ आफूलाई नमीठो लागेको बताएका छन् ।

खनालले भने, ‘उहाँ विपक्षीहरूको बैठकमा जानुभएको मैले पनि पत्रपत्रिकाबाट थाहा पाएको हुँ । त्यो दृश्य मलाई मीठो लागेको छैन ।’

‘उहाँ पार्टीका कसैसँग छलफल गरेर जानुभएको हो कि, एक्लै जानुभएको हो, यसबारे आगामी बैठकमा छलफल होला’, खनालले भनेका छन् ।

सत्ता गठबन्धनभित्र केही समस्या देखिन थाल्यो भने प्रधानमन्त्री दाहालले जसरी पनि सरकार बचाउने बताउने गरेका छन् । आवश्यक पर्दा पार्टी फुटाइदिनेसम्मको दाहालले धम्की दिइसकेका छन् ।

यसअघि, प्रधानमन्त्री दाहालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई फुटाइदिएको स्वीकार गरिसकेका छन् । आवश्यक पर्दा माधव नेपालको नेकपा (एकीकृत समाजवादी)लाई पनि फुटाइदिने दाहालको तयारी रहेको चर्चा छ ।

Published : Thursday, 2024 May 30, 2:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया