खुला सभामा कांग्रेसले दिएको सन्देशबाट प्रचण्ड खुसी, सहकारीबन्धुलाई तनाब

काठमाडौं । नेपाली कांग्रेस मुलुकप्रति जिम्मेवार छभन्ने कुरा उसका हरेक गतिविधि र क्रियाकलापले देखाइरहेको छ ।

हजारौं सहकारीपीडितलाई न्यायका लागि जबरजस्त आवाज उठाउँदै आएको कांग्रेसले सरकारको नियमित कामकारबाहीलाई असर पर्ने गरेर काम गरिरहेको छैन । कांग्रेसले रचनात्मक रुपमा आफ्नो विरोधलाई भद्र तरिकाले प्रस्तुत गरिरहेको छ ।

मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल कांग्रेसले चाहने हो भने सरकारलाई निकै असर पर्ने असहयोगात्मक आन्दोलन गर्न सक्छ । तर, कांग्रेसले आफूलाई मुलुकप्रति जिम्मेवार बनाएको छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सामन्य रुपमा अबरोध गर्दै आएको छ । कांग्रेसले सानो स्वरमा संसदमा आफूलाई प्रस्तुत गरिरहेको छ । कांग्रेसले झिनो आवाजमा अबरोध गरिरहेका बेला एमालेबाट सभामुख बनेका देवराज घिमिरेले आफूलाई जसरी प्रस्तुत गरिरहेका छन् त्यो सत्तापक्ष र प्रतिपक्षबीचको दुरी बढाउने खालको छ । सभामुख पदको कुर्सीमा बसेका घिमिरेले आफूलाई संसदमा निष्पक्ष रुपमा प्रस्तुत गर्नुपर्नेमा एमालेका अध्यक्ष केपी ओलीको इसारामा गतिविधि गरेपछि विभिन्न खालका प्रश्न उब्जिएका छन् ।

कांग्रेसको यो सदासयता र लचकतालाई सत्तामा रहेको पहिलो ठूलो दल एमाले र तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कमजोरीका रुपमा लिएका छन् । नेकपा (माओवादी केन्द्र)ले आफूलाई संयम बनाएर लगेको देखिन्छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्वाद, सहमति र सहकार्यको नीतिलाई नै अगाडि बढाइरहेका छन् । कांग्रेसका उपसभापति, महामन्त्रीसहितका नेताहरू पनि निकै नराम रुपमा प्रस्तुत भइरहेका छन् ।

एमालेका अध्यक्ष ओली र उनी निकटका महेश बर्तौला, सूर्य थापा, योगेश भट्टराई जस्ता अराजक र छुद्र अभिव्यक्ति कांग्रेसका नेताहरूले दिएका छैनन् । कांग्रेसका नेताहरूमा एमालेका नेताहरूमा जस्तो छुद्रता छैन ।

सहकारीको झण्डै १ अबै रुपियाँ अपचलन र ठगीको अभियोग लागेका रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने, सांसदहरू स्वर्णिम वाग्ले, मनीष झाहरू जस्ता नेताहरूले जस्तो तल्लो तहको निच अभिव्यक्ति पनि कांग्रेसका नेताहरूले कदापि दिँदैनन् । कांग्रेसका नेताहरूमा संस्कार छ ।

कांग्रेसले चाहने हो भने प्रतिनिधिसभाको बैठक ठप्प बनाउन सक्छ । मुलुकमा आन्दोलन गरेर अस्तव्यस्त बनाउन सक्छ । सरकारविरुद्ध असहयोगात्मक र बहिस्कारको राजनीति गर्न कांग्रेसले सक्छ । तर, कांग्रेसले त्यो तहको गतिविधि गर्न चाहेको छैन र चाहँदैन पनि । सहमतिबाटै मुलुक अगाडि बढोस् भन्ने कांग्रेस चाहन्छ ।

कांग्रेसका नेता रामहरि खतिवडाले कांग्रेसले देखाइरहेको सहमति र सहकार्यको नीतिलाई सत्तापक्षका केही नेताहरूले आफ्नो ठूलो जितका रुपमा लिएको भ्रममा रहेको टिप्पणी गरेका छन् । उनले कांग्रेसले कहिल्यै पनि मुठभेडको राजनीति नचाहेको भन्दै कांग्रेस मुलुक र जनताप्रति निकै जिम्मेवार रहेको बताए ।

हुन पनि कांग्रेसले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा सहकारी ठगलाई कारबाही र सहकारीपीडितलाई न्यायको माग गरेर पहिलो पटक सडक आन्दोलन गरेको छ । कांग्रेसको सडक आन्दोलन निकै भद्र र संयम थियो । सभालाई सम्बोधन गर्ने नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अप्रिय शब्द प्रयोग गरेनन् । दाहालको आलोचना गरेनन् । बरु सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका रास्वपाका सभापति एवम् गृहमन्त्री लामिछाने र गिरिबन्धु टि इस्टेटको जग्गा घोटालामा परेका एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री ओलीप्रति कांग्रेसका नेताहरू आक्रामक देखिएका छन् । सडकमा नारा लगाउने क्रममा पनि लामिछाने र ओलीविरुद्ध नाराबाजी भएका छन् ।

कांग्रेसले सडकमा खुला सभा गर्नुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्री दाहालले सभापति कांग्रेस सभापति देउवालाई बुढानिलकण्ठस्थित निवासमा पुगेर भेट गरेका थिए । भेट निकै राजनीतिक संस्कारभित्र रहेर भएको थियो । यो नै कांग्रेस सभापति देउवाको उच्च राजनीतिक संस्कार हो । देउवाले दाहाललाई स्वागत गरे । देउवा र दाहालबीचको भेटपछि खुला सभामा कांग्रेस नेताहरूले प्रधानमन्त्री दाहालप्रति धेरै आलोचना गरेनन् । यसले पनि कांग्रेस प्रधानमन्त्री दाहाल र माओवादीप्रति नरम छभन्ने संकेत दिएको छ ।

Published : Monday, 2024 May 27, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया