सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेसको शक्तिशाली प्रदर्शन – तस्वीरहरू

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगलाई कारबाही र सहकारीपीडितलाई न्यायको माग गरेर खुला सभा गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गमा कांग्रेसले आइतबार सहकारी ठगलाई कारबाहीको माग गर्दै हजारौँको संख्यामा उपस्थित भएर प्रदर्शन गरेको हो । कांग्रेसले सरकारको सरकार, अनुदारवाद, अलोकतान्त्रिक रवैया तथा सहकारी गठविरुद्ध प्रदर्शन गरेको छ ।

खुला सभालाई महामन्त्री विश्वप्रकाश शर्माका साथै बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँ, नेपाल महिला संघीकी अध्यक्ष उषा राउत, काठमाडौंका सभापति सबुजकृष्ण बानियाँ, भक्तपुरका सभापति दुर्लभ थापा र ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

सभामा महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेताहरू रमेश लेखक, रामहरि खतिवडा, उदयशम्शेर राणा, जितजंग बस्नेत, मीनबहादुर विश्वकर्मा, प्रतिमा गौतम, दीपक गिरी, योगेन्द्र चौधरी, लक्ष्मी खतिवडा, मुक्ताकुमारी यादव, चन्दा चाैधरी, उर्मिला थपलिया, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतको हजारौँ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थालेको छ ।

पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन ओटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शनमा सहभागी भएका छन् ।

कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर उपत्यका केन्द्रित सडक आन्दोलन गरेको छ ।

कांग्रेसले फागुनदेखि संसदमा समेत सहकारीको विषय उठाएर छानबिनको माग गर्दै आएको छ ।

कांग्रेसले ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेको जनाएको छ ।

Published : Sunday, 2024 May 26, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया