कांग्रेसका सांसदलाई सुरक्षाकर्मीको आडमा एमाले, माओवादी र रास्वपाका सांसदले धकेले, देउवालाई भेटेपछि प्रचण्ड संयम्
काठमाडौं । सत्तापक्षले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई मार्शल लगाएर अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वोक्षण प्रतिनिधिसभामा पेश गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसले नाराबाजी गरिरहेको छ । कांग्रेसको अवरोधलाई बेवास्ता गर्दै सभामुख देवराज घिमिरेले पेलेर संसद चलाएका छन् ।
प्रतिनिधिसभाको वेलमा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका छन् । कांग्रेसल वेल घराउ र नारावाजी गरिरहेका बेला अर्थमन्त्री पुन रोस्ट्रममा जान खोजेका थिए । कांग्रेसका सांसदहरूले बाटोमा उभिएर विरोध जनाए ।
सोही बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले स्कर्टिङ गरेर अर्थमन्त्री पुनलाई रोस्ट्रमतिर लैजान खोजेका थिए । चाकडी गर्दै अर्थमन्त्री पुनको अगाडि आइपुगेका परियारसँग नेकपा (माओवादी केन्द्र) र एमालेका सांसदहरू पनि आएर कांग्रेसका सांसदहरूलाई मर्यादापालकहरूको सहयोगमा धकेलेर अर्थमन्त्री पुनलाई रोस्ट्रममा पुर्याइएको छ ।
कांग्रेसका सांसद र एमाले–माओवादी–रास्वपाका सांसदहरूबीच केही समय धकेलाधकेल भएको थियो । यो दृष्य नजिकै बसेका सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको आरोप लागेका गृहमन्त्री रवि लामिछाने मुसुमुसु हाँसेर बसेका थिए । लामिछाने हाँसेको देखेर कांग्रेसका सांसदहरू चकित परेका छन् ।
सभामुख घिमिरेले अर्थमन्त्री पुनलाई रोस्ट्रममा लैजान मर्यादापालकहरूलाई आदेश दिएका थिए । कांग्रेसका सांसदहरूले नारावाजी गरिरहेका बेला संसदको बैठक मार्शल लगाएर सदन चलाएपछि कांग्रेसले आपत्ति जनाएको छ ।
अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा २०८१ पेस गरेका हुन् ।
सभामुख घिमिरेले अर्थमन्त्री पुनलाई रोस्ट्रममा आउन समय दिएपछि कांग्रेस सांसदहरूले रोकेका थिए । त्यसपछि सभामुखले अर्थमन्त्रीलाई रोस्ट्रममा आउने व्यवस्था मिलाउन सांसदहरूलाई आग्रह गरेका थिए ।
अर्थमन्त्रीको बाटो छेकिरहेका कांग्रेस सांसदहरूलाई सत्तारुढ एमाले, माओवादी र रास्वपाका सांसदहरूले धकेलेर बाटो खाली गरेका छन् ।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्नका लागि समय दिएका थिए ।
सांसद शाहीले सहकारीको बचत अपचलनकर्ता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेका थिए ।
शाहीले बोलेपछि सभामुखले कार्यसूची अघि बढाएका छन् । बोल्ने समय नपाएर कार्यसूची अघि बढेपछि कांग्रेस सांसदहरू वेल घेराउमा उत्रिएका थिए ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक सर्वेक्षणको जवाफ दिने क्रममा नेपाली कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएनन् । दाहालले आजै सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठ निवासमा भेटेर आएको भन्दै छिटै सहमति हुने बताए । विश्वासको मत लिने बेला कांग्रेसविरुद्ध आक्रामक अभिव्यक्ति दिएका प्रधानमन्त्री दाहाल आजको बैठकमा निकै संयम रुपमा प्रस्तुत भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया