अस्पताललाई रकम नदिने शिवाकोटी-सापकोटाको डिजाइन, कमसल सामग्रीले मध्य भोटेकोशीको सुरुङ चुहियो

काठमाडौं । काम सम्पन्न भएर विजुली निस्केला भन्ने बेला सिन्धुपाल्चोकमा रहेको मध्य–भोटेकोशी जलविद्युत् आयोजना फेरि विवादमा आएको छ ।
कमसल खालको सिमेन्ट, गिट्टीढुङ्गा, रड लगायतका सामग्री प्रयोग गरेका कारण सुरुङ चुहिएका बेला विभिन्न बखेडा झिकेर आरोपबाट बच्न आयोजनाका कर्मचारीहरू मिडियाबाजीमा उत्रिएका छन् ।
नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद माधव सापकोटको विशेष चासो र स्वार्थका कारण यो आयोजना बेलाबेला विवादमा पर्ने गरेको छ । सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । सापकोटाले आयोजनासँग धेरै मोह राखेको बेलाबेला चर्चा हुने गरेको छ ।
आयोजनामा सिन्धुपाल्चोक क्षेत्र नं. १ (२) बाट बागमती प्रदेशसभाका सदस्य सरल सहयात्री, बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुन्चु शेर्पा पनि जोडिएका छन् । यो समूहले आयोजनामा सिमेन्ट, ढुङ्गा गिट्टी, ढुङ्गा, रड लगायतका सामग्री दिँदै आएको छ । आयोजनाका कर्मचारीहरूसँगको मिलोमतो र सेटिङमा कमसल खालको सामग्रीहरू दिएका कारण सुरुङ चुहिने समस्या भएको आरोप छ । सुरुङ चुहिएर बनाउनु पर्ने भएपछि अझै एक वर्ष विद्युत उत्पादन हुनेछैन ।
१०२ मेगावाटको आयोजनामा नेपाल सरकार, निजी क्षेत्र, स्थानीय, नेपाल विद्युत प्राधिकरणको पनि लगानी छ । कर्मचारी र माओवादी–एमालेका नेताहरूको स्वार्थले झनै समस्या बनाएको चर्चा छ ।
आयोजना बाह्रबिसे नगरपालिका–५ मा रहेको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटी रहेका छन् । शिवाकोटी र माओवादीका नेता सापकोटाबीच भएको साँठगाँठले पनि आयोजनाले राम्रोसँग काम गर्न नसकेको आरोप छ । आयोजनामा गतिलो काम नगरेको भन्दै एउटा समूह सीईओ शिवाकोटलगायतविरुद्ध सरोकारवाला निकायमा उजुरी दिने तयारीमा छ ।
माओवादीका नेता सापकोटासँग मिलेर धन्दा चलाइरहेका शिवाकोटीले नेपाली कांग्रेसका नेता तथा सांसद मोहनबहादुर बस्नेत र बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतलाई विभिन्न आक्षेप र लाञ्छना लगाउने गरेका छन् । मोहन बस्नेत र बालकृष्ण बस्नेत पनि जनताका प्रतिनिधि हुन् । आयोजनाभन्दा पनि आफ्नो क्षेत्रका जनताको हित उनीहरूका लागि महत्व हुन्छ । जनता छन् भने आयोजनाहरू जति पनि बनाउन सकिन्छ ।
आयोजना ०६८ सालमा शुरू भएको थियो । शिवाकोटीले मध्य–भोटेकोशी जलविद्युत् आयोजना आगामी असारमा उद्घाटन गर्ने तयारी रहेको बताउने गरेका छन् । कमसल खालको सामग्रीका कारण सुरुङ चुहिएर आयोजनालाई असर परेको विषयबाट पन्छिन शिवाकोटीले मोहन बस्नेत र बालकृष्ण बस्नेतलाई आक्षेप लगाइरहेको बुझाइ स्थानीयको छ । यसको मूल्य शिवाकोटीको समूहले चुकाउनुपर्नेछ ।
मोहन बस्नेतले बाह्रबिसेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नतिका लागि भन्दै ९ करोड रुपियाँ मागेको पक्कै हो । बस्नेतले आफ्नो घरखेत वा व्यक्तिगत सम्पत्ति जोड्न रकम मागेको होइनन् । आयोजनाबाट प्रभावित बाह्रबिसेका जनतालाई भविष्यमा उपचार गर्न सहज होस् भनेर ९ करोड माग गरेका हुन् । त्योभन्दा अगाडि आयोजनाका सीईओ शिवाकोटीले नजिकैको ३ किलोमिटर सडक ढलान गर्ने आश्वासन दिएका थिए । सडक पनि ढलान गरिदिएनन् ।
माओवादी र एमालेका नेताहरू उक्साहटमा लागेर सीईओ शिवाकोटीले अस्पताललाई रकम पनि दिन मानेनन् ।
बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले १५ बेडको अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने लक्ष्य रहेको बताए । उनले आयोजनाको प्रसारण लाइन रहेको क्षेत्र विकास पनि गर्नुपर्ने अडान राखेको पनि बताएका छन् । कानूनले दिएको अधिकारअनुसार आयोजनासँग मोहन बस्नेत र बालकृष्ण बस्नेतले जनताका लागि उपचार गराउने अस्पतालमा रकम माग गरेको विषयलाई मिडियाबाजी गरेर उत्पात मच्चाएर स्थानीय जनतालाई चिढ्याएर आयोजनाका सीईओ शिवाकोटीले कसरी काम गर्ने हुन् प्रश्न उठेको छ ।
आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीयलाई केही प्रतिशत रकम पनि दिनुपर्छ । त्यो दायित्वबाट भागेर आयोजनाका सीईओ शिवाकोटीले माओवादी र एमालेका नेताहरू बोकेर मिडियाबाजी गरेपछि स्थानीयहरू रिसाएका छन् । जनतालाई सेवा दिनेभन्दा पनि रकम दिन नपरोस् भन्ने पक्षमा शिवाकोटी देखिएका छन् । सीईओ शिवाकोटी, सांसद सापकोटा लगायतसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया