सहकारी ठग र निरंकुश सरकारविरुद्ध काठमाडौंको मुटु ईन्द्रचोकमा तरुणहरूको राँके जुलुस प्रदर्शन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले राँके जुलुस प्रदर्शन गरेको छ ।

शुक्रबार साँझ काठमाडौंको ईन्द्रचोकमा राँके जुलुस प्रदर्शन गरिएको हो । ईन्द्रचोकबाट अगाडि बढेको जुलुसका सहभागीले सहकारी ठगलाई कारबाही गर, संसदीय छानविन समिति गठन गर भन्दै नारावाजी गरेका छन् ।

प्रदर्शनमा उत्रिएका तरुणहरूले सहकारीको झण्डै एक अर्ब रुपियाँ ठगीको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेले सत्ताशक्तिको अहँकार देखाएको भन्दै राजीनामा माग पनि गरेका छन् ।

तरुण दलका नेता कार्यकर्ताले नेपाली कांग्रेसको मागअनुसार गृहमन्त्री लामिछानेविरुद्ध अनुसन्धान गर्न संसदीय छानबिन समितिको गठनको पनि माग गरेका छन् ।

राँके जुलुस र कोणसभामा नेपाल तरुण दल काठमाडौं क्षेत्र नं. ८ का नेताका सुरेश श्रेष्ठ, काठमाडौं तरुण दलका जिल्ला सचिव दिनेशविक्रम शाह, केन्द्रीय सदस्य रत्न महर्जन, विवेक श्रेष्ठ, चक्र कठायत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य उज्ज्वल बजचार्य लगायतको सहभागिता रहेको थियो ।

काठमाडौं तरुण दलका सचिव दिनेशविक्रम शाहले सहकारीको रकम अपचलन गर्ने गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु राई (जीवी)लाई किन पक्राउ गर्न नसकेको भन्दै विभिन्न खालका प्रश्न उठाएका छन् । उनले जीवी राईको खोजी गर्न ढिलाइ गर्नुको कारण कतै शालिग्राम पुडासैनी, रवि लामिछानेका चालकको जस्तै हविगत जीवी राईको भइसकेको त छैन ? भनेर प्रश्न उठाएका छन् ।

सचिव शाहले जीवी राई मलेसियाबाट काठको बाकसमा त आउने होइनन् ? भनेर प्रश्न गरेका छन् । जीवी राईका बारेमा गृहमन्त्री लामिछाने थाहा छैन भनेर पन्छिने त होइन भनेर गम्भीर प्रश्न पनि शाहले उठाएका छन् ।

नेविसंघका केन्द्रीय सदस्य उज्वल बज्राचार्यले सरकारको निरंकुश कार्यशैलीको विरोध गरेका छन् । उनले आवश्यक पर्दा अहँकारी र निरंकुश प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारलाई फाल्न काठमाडौंको जनता सडकमा उत्रनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

नेपाल तरुण दलले एक हप्तादेखि निरन्तर प्रदर्शन गर्दै आइरहेको छ । काठमाडौंका विभिन्न स्थानमा राँके जुलुसहरू प्रदर्शन गरिरहेको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुणहरूलाई सहकारीको रकम अपचलन र ठगीको अभियोग लागेका गृहमन्त्री लामिछानेविरुद्ध निरन्तर प्रदर्शन र राँके जुलुसहरू प्रदर्शन गर्न निर्देशन दिँदै आएका छन् ।

Published : Friday, 2024 May 24, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया