सहकारी ठग, गिरिबन्धु काण्ड र निरंकुशताविरुद्धको प्रदर्शनमा तरुणहरू निलो ड्रेसमा सहभागी हुने

काठमाडौं । नेपाल तरुण दलले जेठ १३ गते काठमाडौंको प्रदर्शनीमार्गमा नेपाली कांग्रेसले गर्न लागेको सरकारविरुद्धको प्रदर्शनमा निलो पोशाकमा उपस्थित हुन तरुणहरूलाई निर्देशन दिएको छ ।

शुक्रबार ललितपुरको कुपण्डोलमा बसेको तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले निलो ड्रेस (पोशाक)मा प्रदर्शनमा सहभागी हुने निर्णय गरिएको अध्यक्ष विद्वान गुरुङले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद तथा तरुण दलका पूर्वअध्यक्ष जीतजङ्ग बस्नेतको प्रमुख आतिथ्यमा बसेको बैठकमा सरकारको अलोकतान्त्रिक र निरंकुश चरित्रविरुद्ध हुन लागेका प्रदर्शनलाई भव्य र सभ्य बनाउने निर्णय भएको छ ।

सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समितिको माग गर्दै आएको कांग्रेसले सडक आन्दोलन गर्न लागेको छ ।

प्रतिनिधिसभाको बैठकमा कांग्रेसलाई बोल्न समय नदिने, मार्शल (सुरक्षाकर्मी) परिचालन गरेर घेराबन्दी गरेर संसदको बैठक जबरजस्ती चलाउने, गृहमन्त्री लामिछानेद्वारा विदेशीलाई सूचना बेचेको भनेर गम्भीर आरोप लगाउने, गृहमन्त्री लामिछानेका अमर्यादित र असंसदीय शब्दावली हटाउनुपर्ने, गिरिबन्धु टि इस्टेटको जग्गा घोटाला प्रकरणमा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि छानविन हुनेपर्ने लगायतमा कांग्रेस आवाजहरू उठाइरहेको छ ।

केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले सहकारी ठगहरूलाई जोगाउन सरकारमा रहेका दल र नेताहरू लागेको भन्दै तरुणले अब काम देखाउने समय आएको बताए । उनले पार्टीले दिएको जिम्मेवारीलाई तरुणहरूले अनुशासनमा रहेर पूरा गर्न निर्देशन दिएका छन् ।

परिवर्तनको सम्वाहक तरुणहरूले अबको परिवर्तनलाई अन्जाम दिनेमा आफू विश्वस्त रहेको नेता बस्नेतले बताएका छन् । अध्यक्ष विद्वान गुरुङले कांग्रेसले संसदीय छानविन समिति माग गरेको बताउँदै अब गृहमन्त्रीको राजीनामा नआउँदासम्म तरुणहरूले आन्दोलन गर्ने चेतावनी दिए । उनले सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेविरुद्ध निरन्तर विरोध प्रदर्शन गरेको बताए । उनले जेठ १३ गतेको खुला सभामा उपस्थित हुन आग्रह गरेका छन् ।

Published : Friday, 2024 May 24, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया