कांग्रेसलाई मार्शल लगाएर संसद चलाउने दाहाल-ओली-घिमिरे-लामिछानेको तयारी, सुरक्षाकर्मी तैनाथ

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानविन गर्न संसदीय समिति बन्न नसकेमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार पनि संसदमा अबरोध गर्ने भएको छ ।

शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । सरकारले संसदमा संसदीय छानविन समितिको प्रस्ताव ल्याउनुपर्ने अन्यथा कांग्रेसले संसदको बैठक अबरोध गर्ने प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे र गृहमन्त्री लामिछानेले कांग्रेसको मागमा सहमति भए पनि वा नभए पनि सदनलाई मार्शल लगाएर चलाउने तयारी गरेका छन् । दाहाल र ओलीले सभामुख घिमिरेलाई मार्शल अर्थात् सुरक्षाकर्मी (मर्यादापालक)हरूलाई तयारी अवस्थामा राख्न आदेश दिइसकेका छन् ।

ओलीको आदेशलाई सभामुख घिमिरेले पार गर्न सक्दैनन् । एमालेबाट सभामुख बनेका घिमिरे अध्यक्ष ओलीप्रति बफादार रहेको आरोप छ ।

यसअघिका संसद बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलहरूले सदन अबरोध गर्दा पनि सभामुख घिमिरेले मार्शल लगाएर सदन चलाएका छन् ।

संसदीय समितिको कार्यादेशलाई लिएर सत्तापक्ष र विपक्षीबीच सहमति नजुट्दा सदनको अवरोधबीच सरकारको नीति तथा कार्यक्रममा आज शुक्रबारदेखि दुवै सभामा छलफल हुँदै छ । सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक ११ बजे र राष्ट्रिय सभा बैठक १ः१५ बजे बोलाइएको छ ।

विपक्षीहरूको अवरोधबीच नीति तथा कार्यक्रममा छलफल चलाएर शुक्रबार नै पारित गर्ने सरकारको तयारी छ । सोहीअनुसार सभामुख घिमिरेले तयारी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ । यसअनुसार प्रधानमन्त्रीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल प्रारम्भ हुनेछ । छलफलको क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिनेछन् । जवाफपछि सभामुख घिमिरेले प्राप्त संशोधनहरू र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभामा पनि नीति तथा कार्यक्रम छलफल गर्ने, प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार नीति तथा कार्यक्रममा दुईवटा संशोधन परेको छ । प्रतिनिधिसभामा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले दफावार संशोधन राखेका छन् । राष्ट्रिय सभामा जनमोर्चाकै तुलबहादुर विश्वकर्माले संशोधन राखेका छन् ।

कांग्रेसले निःसर्त संसदीय छानबिन समिति नबनेसम्म संसदमा आफ्नो अवरोध कायम रहने स्पष्ट पारेको कार्यव्यवस्था परामर्श समितिका सदस्य एवम् कांग्रेस सांसद रामहरि खतिवडाले बताएका छन् ।

सरकारले वेल घेराउ र अवरोधबीच सदनका काम–कारबाही धमाधम अगाडि बढाएपछि कांग्रेस रिसाएको छ । कांग्रेसले सदनसँगै सडकबाट समेत दबाब दिनेगरी प्रदर्शनका कार्यक्रम तय गरेको छ ।

Published : Friday, 2024 May 24, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया