दाहालमार्फत संसद विघठन गरेर ओली मध्यावधिमा जान इच्छुक

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि सभालाई विगठन गरेर मध्यावधिमा जान चाहेको चर्चा भइरहेका बेला नेकपा (माओवादी केन्द्र)का नेताले पनि संसद विघठनको प्रयासहरू भइरहेको स्वीकार गरेका छन् ।

एमालेका अध्यक्ष ओलीका नाम नलिए पनि माओवादी नेता एवम् पूर्वमन्त्री सुदन किराँतीले अध्याँरो कोठाभित्र बसेर एउटा शक्ति संसद विघठन गराउन लागेको बताएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भने, ‘जबरजस्ती अझै देशलाई धकेल्ने तत्व एउटा अध्याँरो कुरामा कम्मर कसेर न्वारनदेखिको बल निकालेर प्रयासरत छ । त्यो भनेको संसद विघठन गराउने, देशलाई फेरि अस्थिरतातिर लैजाने, यो कसरत छ ।’

‘अझ यो मात्रै होइन कि गणतन्त्र ल्याएको प्रचण्डको नेतृत्वमा, प्रचण्डकै नेतृत्वमा अग्रमनको एजेण्डा समाप्त पारिदिन पाए हाम्रो हातबाट एकथरीलाई लागेको छ’, किराँतीले भने ।

‘मलाई के विश्वास छभने प्रचण्ड त्यस्तो व्यक्ति हो जसले यो संकटबाट फेरि राष्ट्रलाई नेतृत्व गरेर अगाडि जान्छ । यी सबै समस्या उहाँलाई थाहा छ’, उनले भने ।

‘संसद विघठन नै गर्ने दिनसम्म चाहिँ मलाई लाग्छ परिस्थिति पूरा दिँदैन जस्तो लाग्छ । त्यो देशको निम्ति धेरै ठूलो दुर्घटना हो’, उनले भने ।

‘विगतमा पनि पटक पटक संसद विघठन हुँदा यी नेताहरूले बचाएको हो’, किराँतीले भने, ‘चाहना त यहाँ (केपी ओली)को धेरै छ नि । कसैको राजाको चाहना छ । कसैको धर्मनिरपेक्षताको अन्त्यको चाहना छ ।’

उनले भने, ‘कसैको समावेशी, समानुपातिक समाप्त होस् भन्ने चाहना । संघीयता नै कोल्याप्स होस भन्ने चाहना छ । चाहनाले मात्रै त केही हुँदैन ।’

‘संसद विघठन गराउने एउटा तत्व लागेको छ । अस्थिरता बनाएर धमिलो बनाएर माछामार्न चाहन्छ’, माओवादीका नेता किराँतीले भने ।

विगतमा प्रधानमन्त्री रहेका बेला एमालेका अध्यक्ष ओलीले दुई पटकसम्म प्रतिनिधि सभा बिघठन गरेका थिए । सर्वोच्च अदालतले ओलीको निर्णय उल्ट्याइदिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत संसद विघठन गरेर ओली मध्यावधिमा जान चाहेको चर्चा भइरहेका बेला माओवादीका नेता किराँतीले अध्याँरो कोठाभित्र बसेर षड्यन्त्र भइरहेको बताए ।

Published : Thursday, 2024 May 23, 10:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया