बुद्धले देखाएको मार्गबाट शान्ति कायम होस्, अन्याय, अत्याचार, दमनबाट सबैले मुक्ति पाउन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवरमा शुभकामना सन्देश दिएका छन् ।

बिहीबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।

देउवाले भने, ‘हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानवअधिकार विरोधी लगायतका घटनाहरूबाट मुक्त हुन सकेको छैन ।’

‘मानवअधिकार विरोधी यस्ता क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक छ’, उनले भने, ‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन ।’

‘शान्ति, संहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं ! अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्दछु’, सभापति देउवाले भने ।

उनले भने, ‘अन्त्यमा, विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६८ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Published : Thursday, 2024 May 23, 8:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया