सहकारीको करोडौं रकम ठगका आरोपी गृहमन्त्री लामिछानेविरुद्ध तरुण दलद्वारा सडक आन्दोलन घोषणा

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध नेपाल तरुण दलले सडक आन्दोलन घोषणा गरेको छ ।

सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको केन्द्रीय सदस्यहरूको बैठकले जेठ २ गते सहकारी ठग र सहकारीपीडितहरूको निक्षेपको सुरक्षाको मागसहित प्रदर्शन गर्न लागिएको अध्यक्ष विद्वान गुरुङले जनाएका छन् ।

बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो । ‘नेपाल तरुण दलले २०८१ जेठ २ मध्यान्ह १२ बजे माइतिघर मण्डलामा बृहत र्‍यालीको कार्यक्रम गर्ने निर्णय गरेको छ’, अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहकारीपीडितहरूको पक्षमा र सहकारी ठगको विरुद्धमा माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत् ¥याली आयोजना गर्ने निर्णय भएको गुरुङले बताए ।

तरुण दलले सम्पूर्ण सहकारीपीडितहरूलाई र्‍यालीमा सहभागी हुन आह्वान गर्दै सहकारी ठगलाई कारबाहीको लागि दवाव दिन अपील पनि गरेको छ ।

केन्द्रीय सदस्य दिनेश राईले सहकारी ठगविरुद्ध जेठ २ गते काठमाडौंमा बृहत र्‍यालीको कार्यक्रम बैठकमा प्रस्तावका रुपमा पेश गरेका थिए । राईको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गर्दै आन्दोलनको कार्यक्रमलाई सफल बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग राखेर प्रतिनिधिसभाको बैठक अबरुद्ध गर्दै आएको छ । गृहमन्त्री लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले छानविन समितिको माग गरेर सदनमा अबरोध गर्दै आइरहेका बेला तरुण दलले सडक आन्दोलन घोषणा गरेको छ ।

Published : Monday, 2024 May 13, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया